सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक साता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ । झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको साता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको साता पसलसमेत सञ्चालनमा रोक लगाइएको जानकारी दिंए । पराजुलीले भने, ‘सङ्क्रमण नियन्त्रण गर्नैपर्ने छ, आम नागरिकलाई भन्छु एक साता कष्ट सहेरै भए पनि घरमै बसौँ ।’ पछिल्लो २४ घण्टामा मुलुकभर छ हजार ७१४ नयाँ सङ्क्रमित थपिएकोमा काठमाडौँ उपत्यकाका एक हजार ४९३ छन् । बढ्दो सङ्क्रमण रोक्न काठमाडौँ प्रशासन कार्यालयले सूचना नै जारी गरेरै कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ ।
२१ हजार रुपैयाँ जरिवाना सङ्कलन पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ७२३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४५५ गाडी र एक हजार २६८ मोटरसाइकल छन् । त्यस क्रममा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६१५ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने १८२ लाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।–रासस