सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपालमा थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ । थप १८ हजार ९६५ जनाको पिसिआर परीक्षण तथा ९३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट सात हजार ५९८ तथा एन्टिजेनबाट ३१६ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख १६ हजार ४६८ जना पुगेको छ । हाल ८७३सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म तीन लाख ९१ हजार ३४८ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ६६४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७६ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा दुई हजार ८२१ थपिए काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ८२१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार ८७९ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५८ हजार १७ संक्रमित निको भएका छन् भने एक हजार ४२९७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६ हजार ८४५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २३ हजार ४५५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३७७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार ८०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १३ हजार २७८ रहेको छ भने २७९ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
थप १९३ सङ्क्रमितको मृत्यु
सङ्क्रमणबाट थप १९३ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार कोरोनाबाट १२९ सङ्क्रमितको मृत्यु भएको थियो ।
सङ्क्रमण दर ५.७ प्रतिशतले घट्यो
नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गरिन् ।
पछिल्लो २४ घण्टामा सात हजार ९१४ सङ्क्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० सङ्क्रमित फेला परेका थिए । उहाँका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ । वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९. १ प्रतिशत सङ्क्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले सङ्क्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ । उनले सङ्क्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताइन् । यस्तै जिल्लागत रूपमा ५० जिल्लामा सङ्क्रमणको दर व्यापक रूपमा फैलिएको उहाँको भनाइ छ । प्रतिलाख जनसङ्ख्यामा २७.८ जनामा दैनिक मानिसमा सङ्क्रमण छ । उहाँले गत वर्षभन्दा यस वर्ष तीन गुणाले सङ्क्रमणको दर फैलिएको जानकारी दिइन् । गत वर्ष असोजमा प्रतिदश लाख जनसङ्ख्यामा १३१.७ जनामा दैनिक सङ्क्रमणको दर रहेको थियो भने यसपटक जेठमा नै ३०७.६ जनामा सङ्क्रमणको दर रहेको उनको भनाइ छ ।
सङ्क्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ । गत वर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६.७ प्रतिशत छ । इपिडिमियोलोजिष्ट डा श्रेष्ठ सङ्क्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिइन् । उनका अनुसार यस वर्ष सङ्क्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो । अहिले हरेक उमेर समूहमा सङ्क्रमणको कारणले मृत्युदर बढिरहेको उहाँको भनाइ छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा सङ्क्रमणको जोखिम रहेको बताए । काठमाडौँ, रूपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन रहेका छन् । पौडेलका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण घट्दै र उपत्यका बाहिर बढ्दै गएको छ । सबभन्दा चैत अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म सबभन्दा दु्रत गतिमा सङ्क्रमण बढेको बताए ।