सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा थप ८,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा १७७ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै कुल मृतकको सङ्ख्या छ हजार नाघेको छ । अहिलेसम्म नेपालमा ६,०२४ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ। मन्त्रालयले शुक्रवार अपराह्न सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजेन तथा पीसीआर विधिबाट २३,२२६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। सो अवधिमा काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ । शुक्रवार काठमाडौं जिल्लामा १,७५२ जनामा तथा भक्तपुरमा २९५ र ललितपुरमा ४०० जनामा कोभिड १९ पुष्टि भएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ७,८९० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभरि १ लाख १६ हजार १९२ जनामा सक्रिय सङ्क्रमण छ। देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७ हजार ६९७ जना संस्थागत आइसोलेशनमा र बाँकी जना घरमै बसिरहेका छन् । मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २२,१९३ जना, ललितपुरमा ६,८५६ जना र भक्तपुरमा ४,८६४ जनामा सक्रिय सङ्क्रमण छ। गम्भीर समस्या भएका १,७१६ जनालाई आईसीयूमा र ५११ जनालाई भेन्टिलेटरमा राखेर उपचार उपलब्ध गराइएको छ। नेपालमा अहिलेसम्म ४,९७,०५२ जनामा कोभिड पुष्टि भएकोमा ३,७५,८३६ जना निको भएको तथ्याङ्क मन्त्रालयले प्रकाशित गरेको छ।