म्याक्सवेलको त्यो तिलस्मी ब्याटिङ...

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं । क्रिकेटमा असम्भव केही छैन । कहिले काहिँ अविश्वसनीय प्रदर्शन हुन्छन् । टोलीलाई हारको मुखबाट फर्काउन खेलाडी सुपर हिरो बन्ने गर्दछन् । सुपर हिरो बन्न सामान्य प्रदर्शनले पर्याप्त हुँदैन । क्रिकेट इतिहासकै अद्भूत प्रदर्शन गर्नुपर्छ । जुन प्रदर्शन क्रिकेटले सधैं सम्झिने गर्दछ । त्यो प्रदर्शन हरेक क्रिकेटलाई प्रेरणाको स्रोत बन्ने गर्दछ ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेल आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध सुपरम्यान बने । एक समय अप्रत्याशित हार नजिक पुगेको अष्ट्रेलियालाई घाइते म्याक्सवेलले एक्लै खेल जिताए ।
मुम्बईको वानखडे स्टेडियमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनाको थियो । अष्ट्रेलियाले सोचे भन्दा धेरै राम्रो प्रदर्शन गरेको थियो । ओपनर इब्राहिम जद्रानले १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित १ सय २९ रनको इनिङ खेलेका थिए । राशिद खानले अन्तिममा १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोडेका थिए ।


उत्कृष्ट स्पिन आक्रामण भएको अफगानिस्तान सामु उक्त रन बनाउन कुनैपनि टोलीलाई सहज हुँदैन । अष्ट्रेलियाले दोस्रो ओभरमै ट्रविस हेडलाई गुमाएको थियो । अष्ट्रेलियाले अफगानिस्तानसँग सिरिज खेल्न अस्वीकार गर्दै आएको छ ।
त्यसैको कारण खेलको अघिल्लो दिन अफगानिस्तानका नविन उल हकले उक्त बदला लिने संकेत दिँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । सुरुवातमै वार्नर र राशिद खानबीच भनाभन भएको थियो ।
अष्ट्रेलिया अफगानिस्तानलाई दबाबमा राखेर खेल्न खोजेको थियो । मिचेल मार्शले आक्रामक इनिङको सुरुवात गरेका थिए । तर धेरै समय उनी टिक्न पाएनन् । मार्श ११ बलमा २ चौका र २ छक्कासहित २४ रनमा नविन उल हकको बलमा एलबीडब्लू आउट भए ।

त्यो समय अष्ट्रेलिया ५.४ ओभरमा ४३–२ को अवस्थामा थियो । आठौं ओभरमा युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईले पुरै खेल अफगानिस्तानको पक्षमा मोडेका थिए ।

पहिलो बलमा वार्नरलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा फस्ट स्लिपमा विकेटकिपर जोश इंग्लिस इब्राहिम जद्रानबाट क्याच आउट भएपछि अष्ट्रेलिया ८।२ ओभरमा ४९–४ को अवस्थामा थियो ।
इंग्लिसलाई आउट गर्न राशिद खानको योजना महत्वपूर्ण थियो । लगातार दुई विकेट गुमाएपछि अष्ट्रेलिया दबाबमा पर्यो । मार्नस लाबुसेन रन बनाउन संघर्ष गर्न थाले ।
तर उनी रनट आउट भए । मार्कस स्टोइनिस राशिद खानको बलमा स्पीप खेल्ने धुनमा ६ रनमा एलबीडब्लू आउट भए । राशिद खानको बलमा मिचेल स्टार्क क्याच आउट भएपछि अष्ट्रेलिया १८.३ ओभरमा ९१–७ को अवस्थामा पुगेको थियो । अष्ट्रेलियालाई जितको लागि २ सय १ रन चाहिँदा हातमा तीन विकेट थियो ।
अफगानिस्तानले सहज रुपमा जित्ने अनुमान नगर्ने सायद विरलै थिए होला । फराकिलो जितले अफगानिस्तान अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्दा पनि सेमिफाइनल खेल्ने सम्भावना उच्च बन्ने थियो । तर अफगानिस्तानको उक्त सपना ग्लेन म्याक्सवेलले बज्रपात गराए । दुई जीवन, एक रिभ्यु, शतकपछि घाइते तरपनि उनी खेलको सुपर हिरो बने ।

म्याक्सवेलको तिलस्मी प्रदर्शन

म्याक्सवेल छैटौं नम्बरमा ओमरजाईको नवौं ओभरको तेस्रो ह्याट्रिक बल सामना गर्न आएका थिए । अफगानिस्तानले म्याक्सवेलको रिभ्यु लिएको थियो । तर बल ब्याटमा लागेर गएको थियो ।

अफगानिस्तानले लगातार दबाबमा राखेको थियो । २२ औं ओभरको पहिलो बलमा स्पिनर नुर अहमदको बलमा म्याक्सवेललाई अम्पायरले एलबीडब्लू आउट दिए । म्याक्सवेलले झिनो आशाका साथ रिभ्यु लिए । म्याक्सवेल आफैं पेभेलिएनतर्फ फर्किन लागेका थिए । तर बल थोरैले हाइट भएपछि बचेका थिए ।

त्यसै ओभरको पाँचौं बलमा मुजिब उर रहमानले सर्ट लेगमा म्याक्सवेलको सहज क्याच ३३ रनमा क्याच छाड्न पुगे । मुजिबलाई उक्त क्याच छाड्नुको पछुतो जीवनभर हुनेछ । त्यसअघि कप्तान हश्मातुल्लाह शाहिदीले पनि म्याक्सवेललाई जीवनदान दिएका थिए । यी दुई जीवनदान नै अफगानिस्तानको हारको कारण बन्यो ।

त्यसपछि म्याक्सवेलले आफ्नो लय समाए । म्याक्सवेल वर्तमान समयमा स्पिन उत्कृष्ट खेल्ने ब्याटरमा पर्दछन् । स्विच हिट, क्लिन हिट र अद्भूत सर्ट हान्दै सहज जित दिलाए ।

म्याक्सवेलले आफ्नो लय समाएपछि उनलाई रोक्न विश्वका सबै बलरलाई मुश्किल पर्छ । यसै विश्वकपमा म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक प्रहार गरेका थिए । कप्तान प्याट कमिन्सले एक एन्डबाट पुरै विकेट बचाएर राखेका थिए । अर्को एन्डबाट म्याक्सवेल आक्रामक रुपमा प्रस्तुत भएका थिए । म्याक्सवेल विष्फोटक र कमिन्स टेस्ट शैली अपनाए ।

२९ औं ओभरको सुरुवाती दुई बल नुर अहमदलाई म्याक्सवेलले छक्का हानेका थिए । ३२ औं ओभरमा म्याक्सवेलले मुजिब उर रहमानलाई एक चौका र छक्का हानेपछि शतक नजिक पुगेका थिए । म्याक्सवेलले ७६ बलमा शतक पूरा गरेका थिए ।

तर शतकपछि म्याक्सवेल ब्याक पेन र खुट्टामा समस्याको कारण दौडिन सकेनन् । मैदानमा आएर फिजियोले लगातार उनको उपचार गर्नु परेको थियो । म्याक्सवेल ३४ ओभरपछि निकै संघर्ष गरेका थिए । हरेक बलमा उनलाई कठिन भएको थियो ।

उनको खुट्टा पनि राम्रोसँग चलेको थिएन । खेलको समयमा बेला बेला म्याक्सवेलले विश्राम लिएका थिए । अफगानी खेलाडी र प्रशिक्षकले उनको विराध गर्न थाले । तर पनि म्याक्सवेलले मैदान छाड्ने निर्णय लिएनन् । बरु चौका र छक्का मात्रै प्रहार गर्ने सोच बनाए ।

क्रिकेटमा खुट्टाको चालमा कुनैपनि ब्याटरको प्रदर्शन भरपर्छ । तर म्याक्सवेल खुट्टा राम्रोसँग चलाउन पनि सकेका थिएनन् । ३९ औं ओभरमा म्याक्सवेलको खुट्टामा थप समस्या देखिएको थियो । खुट्टामा समस्या देखेपछि म्याक्सवेल मैदानमै लडेका थिए । फिजियोको उपचारपछि उनी फेरि खेलेका थिए ।

उनलाई अष्ट्रेलियाको टोलीले पनि बोलाउन चाहेको थियो । स्पिनर एडम जाम्पा उनको स्थानमा ब्याटिङ गर्न मैदान आएका थिए । जाम्पा त्यसअघि दुई पटक आएर फर्किएका थिए । तर यो पटक बाउन्ड्रीमा आएर जाम्पा मैदान छिर्नै लागेका थिए । तर म्याक्सवेलले खेल्ने निर्णय लिए ।

अफगानिस्तका मुख्य प्रशिक्षक जोनाथन ट्रटले म्याक्सवेलले लगातार उपचारमा लिएको समयको विरोध गर्दै रिजर्भ अम्पायरलाई बताएका थिए । रिजर्भ अम्पायरले फिल्डका अम्पायरलाई निरन्तर सोधेका थिए । तर म्याक्सवेलले काउन्टर अट्याक सुरु गरे । त्यसपछि म्याक्सवेलको हरेक चौका र छक्काले अष्ट्रेलियालाई जिततर्फ अघि बढाएको थियो ।

म्याक्सवेलले संघर्ष गर्न थालेपछि अफगानिस्तानले तीव्र गतिका बलर हकलाई बलिङमा लगाएको थियो । खुट्टामा समस्या हुँदा हकले त्यहिँ केन्द्रित बल गर्न लागेका थिए । तर म्याक्सवेलको अघि उनको केहि लागेन । ४१ औं ओभरमा म्याक्सेवल पुन मैदानमा लडे । त्यो समय उनको खुट्टामा निकै समस्या परेको थियो ।

४० औं ओभरमा म्याक्सवेलले हकलाई दुई चौका हानेका थिए । घाइते म्याक्सवेलले पुरै माहोल आफ्नो पक्षमा फर्काएका थिए । अन्तिम ६० बलमा ६० रन चाहिँएको थियो ।

ड्रेसिङ रुममा घाइते म्याक्सवेलको चौका र छक्का देखेर अष्ट्रेलियाका खेलाडीले खुशी मनाएका थिए । ४४ औं ओभरमा म्याक्सवेलले ओमरजाईलाई दुई चौका र एक छक्कासहित कुल १५ रन बटुलेका थिए । ४५ औं ओभरको पहिलो बलमा हकलाई पुन छक्का हाने ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम २४ बलमा २१ रन चाहिँएको थियो । म्याक्सवेल १ सय ७९ रनमा क्रिजमा थिए । ४७ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का हानेका थिए । चौथो बलमा चौका र पाँचौं बलमा छक्का हान्दै खेल सकाए ।
म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा नट आउट रहे ।

प्याट कमिन्स ६८ बलमा १ चौकासहित १२ रनमा अविजित रहे । आठौं विकेटका लागि यी दुई खेलाडीले १ सय ७० बलमा २ सय २ रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानविरुद्ध विरुद्ध म्याक्सवेलले जुन प्रदर्शन गरे त्यो फिल्ममा देखाईने कथा भन्दा बढी रोमान्चक थियो । यस्तो प्रदर्शन लाखौंमा एक पटक देख्न पाइन्छ । ९१–७ बाट दोहोरो शतक प्रहार गर्दै जित दिलाउनु यो जादुमयी प्रदर्शन थियो ।

अष्ट्रेलियाको ७ विकेट गुमेपछि अफगानी खेलाडी जितको खुसी मनाउन थालेका थिए । तर म्याक्सवेल अफगानिस्तानको भिलेन र अष्टेलिया सुपर हिरो बने । जिताएर नै फर्किए । अधिकाम्स पूर्व क्रिकेटरहरु म्याक्सवेलको यस इनिङलाई इतिहासकै सर्वोत्कृष्ट प्रदर्शन बताएका छन् । क्रिकेट जगतमा उनको मात्रै चर्चा छ । विश्वकप जितेभन्दा बढी चर्चा र प्रसंशा अहिले म्याक्सवेलको भएको छ ।

विजयी छक्का हानेपछि म्याक्सवेलले सबै पिडा भुले । विजयी रनपछि उनको सेलेब्रेसन र अनुहारमा हाँसो अझ हेर्न लायक थियो । एक समय जितको ५ मात्रै प्रतिशतबाट उनले खेल जिताएका थिए । जितपछि ड्रेसिङ रुममा डेविड वार्नर र एडम जाम्पाले पनि राम्रो सेलेब्रेसन गरे । तीन पटक ब्याटिङका लागि तयार भएका जाम्पाको खुसी भिन्दै थियो ।

उनको यस प्रदर्शनलाई बर्णन गर्ने कुनै शब्द छैन । उनको क्षमता, सर्ट छनोट, प्रहार, धैर्यता र देश प्रतिको मायालाई जति बर्णन गरेपनि कम हुन्छ । उनको यो प्रदर्शन विश्व क्रिकेटमा सधैं प्रेरणाको स्रोतको रुपमा बन्नेछ ।

जव टोलीले खराब सुरुवात गर्छन् तव कोही म्याक्सवेल जस्तै बनेर जिताई हाल्छन् की भन्ने आशा सधैं राख्नेछन् । युवा पुस्ताका खेलाडीलाई एक्लै खेल जिताउन सकिन्छ भन्ने राम्रो प्रेरणा पनि मिल्नेछ ।

ओडिआई क्रिकेट इतिहासमा लक्ष्य पछ्याउँदा दोहोरो शतक हान्ने पहिलो खेलाडी हुन् । ओपनर बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो शतक हानेका थिएनन् । तर म्याक्सवेलले छैटौं नम्बरमा आएर दोहोरो शतक हाने । अष्ट्रेलियाबाट ओडिआईमा दोहोरो शतक हान्ने पहिलो खेलाडी पनि हुन् ।

‘आज मैले गर्मीमा बढी फिल्डिङ गरे । यस्तो गर्मीमा मैले धेरै कसरत गरेको छैन । टोली ९१–७ को अवस्थामा थियो । म रहँदा यो सम्भव थियो’, जितपछि म्याक्सवेलले भने । त्यसैमा उनले भने, ‘सुरुवाती दुई हारपछि मानिसहरु हामीलाई सेमिफाइनलबाट हटाउन थाले । तर टिममा सधैं विश्वास थियो ।’
विश्वका अधिकाम्स क्रिकेटरहरु आफूले देखेको उत्कृष्ट प्रदर्शन बताएका छन् । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो जीवनमा देखेको उत्कृष्ट प्रदर्शन बताएका छन् । यो तिलस्मी (असम्भव, अनपत्यार र जादुगरी) काम भएको थियो । यो इनिङलाई विश्व क्रिकेटले सधैंभर सम्झि राख्नेछ ।- (हाम्रो खेलकुद)

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार