ललिता निवास प्रकरणमा पक्राउ थुनामा रहेको १८ मध्ये १७ जना धरौटीमा रिहा 

सोमबार, भदौ २५, २०८०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई साधारण तारेखमा र १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी प्रकरणमा मुद्दा चलाएका मध्ये केशव तुलाधरलाई साधारण तारेखमा र अरु आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 
प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएका मध्ये तुलाधरलाई भने जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको भन्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसँग सबैभन्दा धेरै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

Min Bahadur On Frame (1)1694409191.jpg
त्यस्तै तत्कालिन मालपोत अधिकृत कलाधर देउजा र समरजंग कम्पनीका तत्कालिन सहायक लेखापाल विनोदप्रसाद पौडेलसँग जनही १५ लाख, तत्कालिन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ, डिल्लीबजार नापी कार्यालयका तत्कालिन सर्वेक्षक घमनकुमार कार्की र डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन खरिदार गोपाल कार्कीसँग जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।
त्यस्तै समरजंग कम्पनीका तत्कालिन कार्यालय प्रमुख लोकहरि घिमिरे, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन नायब सुब्बा योगराज पौडेल, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन खरिदार नारायणराज मिश्र, नापी कार्यालय काठमाडौंका तत्कालिन अमिन अरुणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।
तत्कालिन नापी अधिकृत ध्रुवप्रसाद अर्याल र तत्कालिन वडा सचिव शिवजी भट्टराईसँग जनही ३ लाख ३० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
नक्कली मोहीका आरोपित बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जयकुमार महर्जनसँग जनही १ लाख १० हजार रुपैयाँ धरौटी माग गरिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार