कैदी बन्दीलाई ललितपुर महानगरको तीनमहिने सीप विकास तालिम 

तालिमपछि महानगरले उपकरण समेत दिने   
सोमबार, चैत ६, २०७९

ललितपुर । ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई  सीप विकास तालिम दिन सुरु गरेको छ ।  कारागारमा रहेका कैदीबन्दीहरूमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भरु बनाउन महानगरले तालिम दिन सुरु गरेको हो । पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दी मध्ये ६० जनाले तालिम लिदैंछन् । उनीहरुलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ । फर्निचरसम्बन्धी तालिम ३ महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ । 
तालिम उद्घाटन गर्दै महानगरप्रमुख चिरीबाबु महर्जनले फरक परिस्थितिका कारण नख्खु कारगारमा रहेका सबैलाई चरणबद्ध रुपमा महानगरले तालिम दिने बताए । ‘यो तालिम हाम्रो तर्फबाट पहिलो हो, अन्तिम होइन, अनवरत चलिरहन्छ ,चरणबद्ध रुपमा चलिरहन्छ ।’ तालिमले आर्थिक रुपमा अत्मनिर्भर बनाउने बताउँदै कारागारबाट बाहिरिदाँ सीपसहित बाहिरिनु महत्वपूर्ण भएको उनले प्रष्ट पारे । 

336157725_195968043139778_3957597024623239439_n1679307179.jpg
उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले घटना वा दुर्घटनाका कारण कैदमा रहेकाको आत्मविश्वास बढाउन महानगरले तालिम आयोजना गरेको बताइन् । उनले भनिन् ‘ हातमा सीप भए परनिर्भरता हट्छ, यहाँ रहँदा नै पनि सीपलाई उत्पादनसँग जोडेर तपाईहरुआर्थिक रुपमा आत्मनिर्भर बन्न सक्नुहुन्छ । ’ उर्जा र क्षमता बोकेको  जनशक्ति कारागारमा रहेको बताउँदै  उप प्रमुख मञ्जलीले भनिन्, ‘यहाँको समय व्यतित भएपछि तपाईहरुको अर्को जीवन सुरु हुन्छ, सकारात्मक बन्नुस्, घटना वा दुर्घटनाका कारण तपाईहरु यहाँ आइपुग्नु भएको हो । ’ कारागार प्रशासकका अनुसार नख्खु कारागारमा सोमबार एक हजार चार सय ५६ जना कैदीबन्दी छन् । यो संख्या स्थानान्तरणका कारण दिनैपिच्छे थपघट भइरहन्छ । नख्खु कारागारमा भएका मध्ये एक सय १ विदेशी कैदी छन् । 
ललितपुर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले हिजो, आज र भोलिको जीवनलाई जोड्न तालिम अत्यावश्यक भएको बताए । तालिमले आत्मबल बढाउने बताउँदै  आचार्यले आत्मनिर्भर बन्न सहयोग गर्ने प्रष्ट पारे । 
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कैदी बन्दीको बाँकी जीवनलाई उल्लासमय र रचनात्मक बनाउन महानगरले तालिम आयोजना गरेको बताए । उनले भने, ‘ नियत, नियति, परिस्थिति र अवस्थाले तपाईहरु यहाँ आइपुग्नुभयो, जीवन सकिएको छैन, रमाइलो र उल्लासपूर्ण जीवन बाँकी छ, सीप सिकेर आत्मबल बढाउनुहोस् ।’ महानगरले कैदमा भएकालाई आत्मनिर्भर बनाउन तालिम संचालन गरेको उनको भनाई थियो । 

335954709_611587690391952_1099383448366433459_n1679307180.jpg
आर्थिक विकास समिति संयोजक तथा वडा नंं.२१का अध्यक्ष रविन्द्र महर्जन करागारहरु सुधारगृहको रुपमा परिवर्तन हुँदै गएको बताए । व्यक्तिलाई आत्मनिर्भर बनाउने तालिम जीवन रुपान्तरणको तालिम भएको महर्जनले बताए । तालिमले आत्मविश्वास बढाउने बताउँदै आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग गर्ने उनको दाबी थियो ।
कारागार प्रशासक बद्रीनाथ गैरेका अनुसार कारागारमा २० देखि ४० वर्षका पुरुषहरु छन् । यो कारागारमा रहेका कैदीबन्दीहरु अधिकांश बिरामी छन् । उपत्यका बाहिरका कारागारमा रहेका बन्दीहरु बिरामी भएपछि उपचार गर्न सहज होस् भन्दै उपत्यकाभित्रका कारागारमा  स्थानान्तरण गर्ने बद्रीनाथ गैरेले जानकारी दिए । सीप विकासको तालिमले कैदीबन्दीलाई समाजमा पुनस्थापित हुन सहयोग गर्ने बताउँदै महानगरलाई तालिम आयोजना गरेकोमा धन्यवाद दिए ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार