ललितपुर । दक्षिण ललितपुरको चापागाउँमा रहेको सामुदायिक क्याम्पस जनभावना क्याम्पसले ३२ औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा क्याम्पसले विविध सांस्कृतिक कार्यक्रमसहित वर्षभरि भएका अतिरिक्त क्रियाकलापमा सहभागी उत्कृष्ठ विद्यार्थीलाई शिल्ड, प्रमाणपत्र तथा त्रिविको वार्षिक परीक्षामा उत्कृष्ठ अंक हासिल गरेका विद्यार्थीलाई नगद पुस्तकार प्रदान गरेको छ ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा देवराज अधिकारीले सरकारले क्याम्पस सञ्चालन गर्न संम्बन्धन दिइरहने तर अनुगम नगर्ने परिपाटीका कारण विद्यार्थीहरुको संख्या घट्दै जानु चिन्ताको विषय भएको बताए ।

सामुदायिक, आंगिक र निजी कलेजहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् उनले भने, ‘विद्यार्थीहरुमा अमेरिका, बेलायत, अष्ट्रेलिया जाने प्रवृत्ति बढेको छ । यसलाई रोक्न र दक्ष जनशक्ति स्वदेशमा नै राख्ने दायित्व राज्य र सरोकारवालाको हो ।’

क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उनले सामुदायिक क्याम्पसहरुमा पनि विद्यार्थी सङख्या कम हुँदै जानु चिन्ताको विषय हो भने ।
उनले जनभावना क्याम्पसमा सात सय भन्दा बढी विद्यार्थी रहेको विवरणले आफूलाई खुसी तुल्याएको बताउँदै यस क्याम्पसले दक्षिण ललितपुर लगायत ललितपुर भरिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोमा धन्यावाद पनि दिएका छन् ।

कार्यक्रममा वागमती प्रदेश सांसद मधूसुदन पौडेलले आफूहरु जनभावना क्याम्पस स्थापनाकाल देखि नै सामिप्यमा रहेका जनाउँदै क्याम्पसको भौतिक पूर्वाधार विकास गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘राजनैति अस्थिरताले युवा शक्ति विदेशिन बाध्य छन् । यसलाई रोक्न स्वदेशमा नै रोजगारीको सिर्जना गर्नु पर्छ ।’

माहाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले दक्षिण ललितपुरको शिक्षाको विकास गर्न क्याम्पसले खेलेको भूमिकाको चर्चा गरे ।
गोदावरी नगरपालिका वडा नं. १० का अध्यक्ष शेखर न्यौपानेले नगरपालिकाले क्याम्पसलाई ३० रोपनी जग्गा दिएको र भौतिक पूर्वाधार बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गोदावरी नगरपालिकाको शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले क्याम्पसले प्रविधिक तथा अनुसन्धान मुलक शिक्षा प्रदान गरेको बताए ।
क्याम्पसका सल्लाहकार गंगा पराजुलीले क्याम्पसले घरायसी प्रयोजनमा आउने खालको प्रविधिक शिक्षाको अध्यापन गराउनु पर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिइन् ।
क्याम्पसका सल्लाहकार मथुरा घिमिरेले ३२ वर्ष पार गरेर वयस्क अवस्थामा पुगेर क्याम्पसले धेरै ठूलो शैक्षिक जनशक्ति उत्पादन गरेको धारणा राखे ।

जनभावना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रबिन्स शर्माले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर ललितपुर जिल्लाको नमूना कलेज बनाउने उद्धेश्य आफूहरुले लिएको बताए । उनले भने, ‘शिक्षक र विद्यार्थीहरुको मुहारमा मुस्कान ल्याउछौँ ।’

क्याम्पस प्रमुख शिवराज सञ्जेलले क्याम्पसमा गोदावरी नगरपालिका, माहाँकाल गाउँपालिका, वागमती गाउँपालिका , कोन्ज्योसोम गाउँपालिका र मकवानपुर जिल्लाका विद्यार्थीहरु अध्ययन गर्न आउने जानकारी दिए । उनले भने, ‘हामीले ३२ वर्ष पार गरेर एउटा इतिहास रचेका छौँ । यहाँबाट पास भएर गएका विद्याथीहरु देश तथा विदेशका उच्च पदमा रहेर काम गर्छन् ।’
वार्षिकोत्सव कार्यक्रममा क्याम्पसमा विभिन्न तह र संकायमा अध्ययरत विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए ।
