चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी 

शुक्रबार, पुस ८, २०७९

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई रिहा गरेर स्वदेश फिर्ता गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् । अदालतको आदेशपछि उनलाई अध्यागमनमा बुझाउने तयारी भइरहेको केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए।
“सर्वोच्च अदालतको आदेश अनुसार हामीले अध्यागमनलाई बुझाउने तयारी गरेका छौँ। अदालतबाट कागजात प्राप्त हुँदा समय लागेको कारणले भोलि बिहान अध्यागमनलाई बुझाउछौँ,” पाण्डेले भने, “अध्यागमन विभागले बुझिसकेपछि पठाउने व्यवस्था हुन्छ।”

चार्ल्स शोभराज
उनले स्वदेश फर्काउन आवश्यक कागजात र परिवार वा उनलाई पुर्‍याउने व्यक्तिको व्यवस्था मिलाउने जानकारी दिए ।
अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले सोभराजलाई स्वदेश फर्काउनुअघि नियन्त्रणमै राख्ने वा निगरानीमा मात्रै राख्नेबारे टुङ्गो लाग्न बाँकी रहेको बताए।
“हामी छिटोभन्दा छिटो उहाँलाई जुन देशको पासपोर्ट छ त्यो देशमा पठाउँछौँ। त्यस अवधिमा नियन्त्रणमै राख्ने वा नियन्त्रणमा राख्ने भन्ने निर्णय भइसकेको छैन,” उनले भने ।
शोभराज सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए ।  दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।
सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

चार्ल्स शोभराज

शोभराज कसरी छुटे ?
न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवारै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो।

“आफूलाई थुनामा राखिनु गैरकानुनी भएको” भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएपछि बन्दीप्रत्यक्षीकरणको आदेश अदालतले दिएको प्रवक्ता विमल पौडेलले बताए ।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन् । सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए ।
अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन् ।
अदालतले रिहा गर्नुअघि उनले सजाय भुक्तान गर्नुपर्ने अन्य कसुर रहे वा नरहेको यकिन गर्न भनेको थियो । 
भक्तपुर र काठमाडौं जिल्ला अदालतबाट अभिलेख भिडाएर थप कैद बस्नुपर्ने नदेखिएपछि थुना मुक्त गर्ने निर्णय गरिएको जेलर पाण्डेले जानकारि दिए । चार दशकअघि नेपालमा अमेरिका र क्यानडाका एक‍–एक महिलाको हत्या गरेको अभियोग उनीमाथि थियो। ती मुद्दामा उनी दोषी ठहर भए ।

सर्वोच्च अदालतले किन रिहा गर्न आदेश दियो ?
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको छ ।
आदेशमा “अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ ।
हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ ।
कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ ।
नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए ।
‘हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ’ आदेशमा भनिएको छ ।
बुधवारको आदेशमा न्यायाधीशद्वयले सर्वोच्च अदालतले २०७५ साल फागुनमा दिइएको आदेशमा रहेको ‘निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई ठेकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो’ बेहोरा र त्यसपछि २०७९ साल वैशाखमा परेको अर्को रिट निवेदनमा सर्वोच्च अदालतले जारी गरेको परमादेशको सम्बन्धमा कुनै निर्णय पनि नभएको पनि उल्लेख गरिएको छ ।

चार्ल्स शोभराज

कहाँकहाँ गरे अपराध ?
शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।
ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ । तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ । सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे ‘द सर्पेन्ट’ नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो ।
भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय ‘सज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिले’ जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले बताएका थिए ।
शोभराज सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए
भारतमा किन परेका थिए जेल ? कसरी भागेका थिए तिहाड जेलबाट ?
फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए ।
आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो ।
भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे । भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए । थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ । थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो । सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो । 

१९ वर्षअघि किन नेपाल आएका थिए, कसरी पक्राउ परे
एक ‘अज्ञात र रहस्यमय’ व्यक्तिको ‘सुटुक्क’ तस्बिर खिच्न उनी तीन दिन ठमेल क्षेत्रमा ‘गौँडा ढुकेर’ बसे। पासपोर्ट साइजको एउटा फोटो दिएर उनलाई ती व्यक्ति चिन्न र फोटो खिच्न अह्राइएको थियो । यो सेप्टेम्बर २००३ को प्रसङ्ग हो ।
काम त्यति सजिलो थिएन। तैपनि मनमा अलिअलि डर र काँधमा क्यामरा बोकेर ठमेलमा खटिए । ती व्यक्ति ‘खतरनाक’ भएको सङ्केत पाएको भए पनि कति ‘खतरनाक’ थिए भन्ने कुराको भेउ २६ वर्षे ती जोसिला युवकलाई थिएन ।
आफ्ना एक साथीले त्यो फोटो चार्ल्स शोभराजको हुनसक्ने बताएको भए पनि उनलाई शोभराज को हुन् भन्ने भेउपत्तो थिएन । तर ‘कुख्यात हत्यारा’ भनेको सुनेपछि उनको मनमा चिसो पसेको थियो । लामो र पट्यारलाग्दो प्रतीक्षापछि उनले ती व्यक्तिलाई सेप्टेम्बर १६ मा देखे र उनको फोटो खिचे ।
त्यो फोटो भोलिपल्ट काठमाडौंबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्स र उसको भगिनी प्रकाशन नेपाली दैनिक अन्नपूर्ण पोस्टमा प्रकाशित भयो ।
ती दुई पत्रिकामा फोटोसहित ‘स्कूप’ छापिएपछि बल्ल प्रहरी र प्रशासनले कुख्यात अपराधी शोभराज काठमाडौंमा निर्विघ्न घुमिरहेको जानकारी पायो । शोभराजलाई सन् १९७० को दशकमा नेपालमा केही विदेशी पर्यटकको हत्या गरेको आरोप लागेको थियो ।
जोसेफ नाथनको बाइलाइनमा समाचार छापिएको थियो । तर फोटोमा कसैको क्रेडिट थिएन । त्यसरी ठमेलमा शोभराजको त्यो तस्बिर खिच्ने फोटोपत्रकार राजेश गुरुङ थिए । अहिले उनी द हिमालयन टाइम्सको फोटोग्राफी विभागका प्रमुख छन् ।
अन्ततः शोभराज पक्राउ परे र उनीविरुद्ध विभिन्न मुद्दा चलाइयो । शोभराजलाई फर्जी राहदानी प्रयोग गरेको मुद्दा र सर्वस्वसहित जन्मकैद हुनेगरी सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा छुट्टाछुट्टै मुद्दा चल्यो । सर्वोच्च अदालतले १९ वर्ष तीन महिना काठमाण्डूको जेलमा बिताएका शोभराजलाई छोड्न र स्वदेश फिर्ता गर्न आदेश दिएको छ ।

‘निकै डर लागेको थियो’
उन्नाइस वर्षको अवधिमा गुरुङले शोभराजको बारम्बार फोटो खिचे ।
शोभराज जेलबाट रिहा हुन लागेको थाहा पाएपछि गुरुङ पहिलाको कुरा सम्झिँदै भन्छन्, ‘ठमेलको उत्तरतिर नयाँबजारस्थित गार्डन होटलबाहिर गएर म साँझ नढल्किँदासम्म बस्थेँ।’
कैयौँ पटक आफू झुक्किएको तर तेस्रो दिन दिउँसोतिर ‘खोजेको मान्छेजस्तो लागेको विदेशी’ देखा परेको उनी सम्झिन्छन् ।
‘सबै विदेशी अग्ला र गोरा हुँदा एकैखालका लाग्ने, टोपी लगाएको मान्छे नलगाएर पो आएको छ कि भन्ने शङ्का हुने। त्यसमाथि परबाट चियाएर हेर्नुपर्ने ।’
‘हो कि हो कि जस्तो लागेको एक जनालाई मैले होटलबाट निस्किएको देखेँ । पहिला त नजिकै गएर ‘फोटोे खिचौँ कि भन्ने पनि लाग्यो। तर उसले झम्टेला भन्ने डर पनि लाग्यो, ’ उनले सम्झिए ।
‘त्यो दिन मैले कैयौँ पटक उठ्ने र बस्ने गरेँ, क्यामरा जूम गरेँ तर क्लिक गर्न सकिनँ’ गुरुङले भने ।
आफूले त्यति सोच्दासोच्दै शोभराज नजिकैको टेलिफोन बुथ छिरेको र उनी त्यहाँबाट निस्किनुअघि आफूले क्यामरा मिलाउने अवसर पाएको गुरुङले बताए ।
‘डर लागेको थियो । तर अगाडि नगई मैले ३०० एमएमको टेलिजूमले परैबाट फोटो खिचेँ’उनले भने ।
पाँचवटा जति तस्बिर खिचेपछि बाटोमा आएको बसले पारिपट्टि छेकेर केही नदेखिएको र त्यस बीचमा शोभराज एउटा मोटरसाइकलको पछाडि बसेर गएको उनी सम्झिन्छन् । अझै राम्रो फोटो खिच्न सकिन्छ कि भन्ने आशामा गुरुङले केही बेर आफ्नो मोटरसाइकलमा उनीहरूलाई पछ्याए।
‘फोटो त खिचेँ तर पूरै अनुहार देखिने आएन। तैपनि एउटा फोटो शोभराजको फाइल फोटोसँग तुलना गर्दै भोलिपल्ट पत्रिकामा छापियो । तर त्यतिबेला मलाई आफ्नो नाम लेख्न पनि डर लाग्यो।’ उनले भने ।
किन त ? ‘उसका अरू मानिस पनि होलान् भन्ने डर थियो । मलाई जोखिम लिने आँट आएन’ उनी भन्छन् ।
चार्ल्स शोभराज नेपाल आएको कसरी थाहा भयो ?
‘बिकिनी किलर’, ‘सिरीअल किलर’ र ‘द सर्पेन्ट’ जस्ता उपनामले विश्वभरि चिनिएका शोभराजको जीवन जति नाटकीय थियो त्यति नै अनपेक्षित रूपमा उनी काठमाडौंमा नाटकीय शैलीमै पक्राउ परेका थिए । द हिमालयन टाइम्समा कार्यरत पत्रकार जोसेफ नाथनले सेप्टेम्बरको दोस्रो सातामा दरबारमार्गस्थित होटल याक एन्ड यतीको जुवाघरमा एक व्यक्तिलाई देखे । उनीसँगै उनका सहकर्मी ध्रुव पाइनुली पनि थिए । दुई जनालाई नै ती व्यक्ति शोभराज हुन् जस्तो लाग्यो । तर शोभराजले हुलिया केही फेरेको भए पनि पहिला भारतमा पत्रकारिता गरेकाले र आफ्ना सहकर्मीहरूले शोभराज तिहाड जेलबाट छुटेपछि अन्तर्वार्ता गरेकाले नाथनलाई शोभराज चिन्न गाह्रो भएन । नाथनले ती व्यक्तसँग कुरा गर्ने मनसाय बनाए । नाथन अहिले द हिमालयन टाइम्स दैनिकका सम्पादकीय सल्लाहकार छन् । नाथनले आफूले सामान्य शिष्टाचारपछि ती व्यक्तिलाई अङ्ग्रेजीमा ‘तपाईँ चार्ल्स शोभराज हैन’, भनेर सोधेको बताए ।
अकस्मात् आफूलाई कसैले त्यसो भनेको सुनेर ती व्यक्ति केही हच्किए। तर उनले कुटिल पारामा प्रत्युत्तर दिए, ‘को ? बलीवुड फिल्मको हिरो ?’
यो प्रसङ्ग पत्रकारद्वय अनन्तराज लुइँटेल र विकास भट्टराईले लेखेको पुस्तक ‘चार्ल्स शोभराजः अपराध र सजाय’मा पनि उल्लेख नगरीकन लेखिएको छ । तर त्यसमा नाथनको नाम उल्लेख गरिएको छैन ।
लगत्तै नाथन कार्यरत पत्रिकाले ती व्यक्ति शोभराज भएको प्रमाण जुटाउन गृहकार्य गर्‍यो । त्यस काममा फोटो खिच्ने उत्तरदायित्वसहित राजेश गुरुङ पनि संलग्न भए ।
‘उसलाई देख्नासाथ मैले शोभराज हो भनेर चिनिहालेँ’ नाथनले बीबीसीसँग भने, ‘त्यहाँबाट फर्किएपछि मैले १५ दिन लगाएर शोभराजको परिचय स्थापित गर्न खोजबिन गरेँ।’
‘हामीले शोभराजको पासपोर्टको प्रतिलिपि पनि हात पार्‍यौँ र ऊ बसेको होटल पनि पत्ता लगायौँ ।’
यी सबै प्रमाण र तस्बिर जुटिसकेपछि आफूले समाचार प्रकाशित गरेको उनी सम्झिन्छन् ।
प्रमाणका रूपमा फोटोसहित समाचार छापिएपछि उनलाई पक्रन प्रहरी परिचालित भयो । तर शोभराज केही समय सार्वजनिक स्थानमा देखा परेनन्। प्रहरी दबावमा पर्‍यो ।
‘अनेकौँ होटलमा प्रहरीले छापा मार्‍यो । तर ऊ दुई दिनसम्म कहीँ फेला परेन। तर त्यसको भोलिपल्ट बिहान ४ बजे नै ऊ रोयल क्यासिनो दरबारमार्गबाट पक्राउ पर्‍यो’ शोभराजबारे प्रकाशित पुस्तकमा लेखिएको छ । एक अमेरिकी महिला र क्यानडाका अर्का पुरुषको हत्या भएको झन्डै २८ वर्षपछि शोभराज फेरि नेपाल आएका थिए । 
काठमाडौंमा ‘ब्रेक’ भएको समाचारले संसारभरि तहल्का मात्र मच्चाएन प्रहरीलाई समेत वर्षौँअघिको नसुल्झिएको एउटा घटना खोतल्ने अवसर पनि दियो । शोभराज काठमाडौंमा छद्मभेषमा बसिरहेको विषयमा समाचार प्रकाशित भएपछि काठमाडौं प्रहरीमा कार्यरत डीएसपी गणेश केसीले आफूहरूले योजना बनाएर ठाउँठाउँमा छापा मारेको बताए ।
संयोग कस्तो भने केसी सन् १९७५ मा शोभराजले हत्या गरेकी भनिएकी अमेरिकी नागरिकको शव काठमाडौंको जडीबुटी क्षेत्रमा फेला पर्दा १२ वर्षे किशोरका रूपमा घटनास्थलमा हेर्न पुगेका थिए।
‘शोभराज पहिला बसेको थाहा भएको होटलमा फेला परेनन् । काठमाडौंका चारवटै सम्भावित क्यासिनोमा खोज्दा समाचार बाहिरिएको भोलिपल्ट रोयल क्यासिनोबाट काठमाडौं प्रहरीको टोलीले पक्राउ गर्‍यो,’ डीआईजीबाट सेवानिवृत्त केसीले १९ वर्ष तीन महिनाअघिको क्षण सम्झिँदै भने । 
तर शोभराज पक्राउ परेपछि पनि ठूलो ‘पहाड छिचोल्न’ बाँकी रहेको प्रहरीले थाहा पायो । ‘उनले यसअघि कहिल्यै नेपाल नआएको दाबी गरिरहे, जुन दाबी सत्य नभएको नेपाल प्रहरीलाई थाहा थियो’ केसी सुनाउँछन् ।
‘सुरुमा हामीले अध्यागमनसम्बन्धी नियम उल्लङ्घनको कसुरमा मुद्दा चलायौँ । एउटै व्यक्ति दुई पटक नेपाल आउँदा फरकफरक नामका राहदानी प्रयोग गरेको भन्दै आवश्यक कारबाहीका लागि हामीले मागदाबी गरेका थियौँ। उनले भने । सन् १९७५ मा नेपाल आउँदा उनले डच नागरिक हेन्क बिटान्जाको राहदानी प्रयोग गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार ती व्यक्तिलाई शोभराजले थाईल्यान्डमा हत्या गरेर उनको नाम आफूले प्रयोग गरेका थिए । तर शोभराजले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
सन् २००३ मा भने उनी चार्ल्स शोभराजकै नाममा नेपाल आएका थिए । तर प्रहरीलाई सन् १९७५ को घटनाको ज्यान मार्ने उद्योगसम्बन्धी फाइल फेला पार्न सकस पर्‍यो ।
‘विसं २०३३ सालमा हनुमानढोका प्रहरीको १० नम्बर डायरीमा चार्ल्स शोभराजकै नाममा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको देखियो, तर त्यसको मिसिल अदालतमा भेटिइराखेको थिएन’, शोभराज पक्राउ पर्दादेखि उनीविरुद्ध मुद्दा चलाउनेसम्मको काममा संलग्न गणेश केसीले भने ।
‘तर कैयौँ दिनको हाम्रो निरन्तरको प्रयासपछि डिल्लीबजारमा राखिएका अदालतका पुराना दस्तावेज खोतल्दा त्यो भेटियो। अनि अध्यागमको मुद्दा सकिएपछि हामीले कर्तव्यज्यान मुद्दाको फरार अभियुक्तका रूपमा उनलाई थप हिरासतमा लियौँ ।’
त्यसकै आधारमा प्रहरीले झन्डै तीन दशकपछि ‘परिस्थितिजन्य प्रमाणहरू’ जुटाएर अदालतमा शोभराजलाई पेस गर्‍यो ।
प्रहरीका अनुसार शोभराजको एउटा शैली के थियो भने आफूले हत्या गरेको व्यक्ति पुरुष भए निजकै पासपोर्टमा आफ्नो फोटो राखेर उनी सोही नामधारण गरेर विदेशयात्रा गर्थे । उनले नेपालमा हत्या गरेका क्यानडाका नागरिकको राहदानी बोकेर ब्याङ्कक पुगी भोलिपल्टै फेरि नेपाल फर्केको देखिएको प्रहरीले बताएको छ। सन् १९७५ को घटनामा उनी आफ्नो सहीका कारण पनि धेरैतिर ‘चुकेको’ नेपाली प्रहरीले फेला पार्‍यो ।
‘उनी बसेको होटलमा लरेन्स करीअर भनेर अर्कै नाम लेखेको पनि सही भने चार्ल्स शोभराजकै नामको थियो । उनको अनुमतिमा प्रकाशित कैयौँ पुस्तक तथा सामग्रीमा उनले पहिला गरेको नेपालयात्राबारे उल्लेख थियो’ केसी भन्छन् ।
‘नेपाल अध्यागमनमा बुझाइने कार्डमा समेत उनको हस्ताक्षर ‘चार्ल्स शोभराज’ कै नाममा थियो’, उनले भने । 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार