धानको समर्थन मूल्य तोकियो

बुधबार, कात्तिक २३, २०७९

काठमाडौँ । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९-०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८-०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल दुई सय १५ र मध्यम धानमा प्रतिक्विन्टल दुई सय २६ रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल दुई हजार सात सय ५२ र मध्यम धानका लागि दुई हजार नौ सय दुई तोकेको थियो ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ । चालु आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ । 
त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु ३३ करोड विनियोजन गरेको छ । यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागु हुनेछैन । 
हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल रु एक सय १२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ । गत वर्ष यो कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार