दूध उपभोक्तालाई मिल्क क्यान

शनिबार, कात्तिक १९, २०७९

बुटवल ।  रुपन्देहीको तिलोत्तमामा रहेको डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उपभोक्तालाई मिल्क क्यान दूध बोक्ने भाँडो  प्रदान गरेको छ । दूध सङ्कलन तथा बिक्री वितरण गर्दै आएको उक्त सहकारीले सञ्चालन गरेको बिक्री केन्द्रबाट दूध लैजाने नियमित उपभोक्तालाई मिल्क क्यान उपलब्ध गराएको हो ।   यस अगाडि प्लास्टिकमा बिक्री वितरण गर्दै आएको उक्त सहकारीले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नका लागि मिल्क क्यान वितरण गरिएको संस्थाका अध्यक्ष घनश्याम तिवारीले बताए  ।   उक्त सहकारीबाट नियमित दूध उपभोग गर्ने तीन सयभन्दा बढी उपभोक्ता रहेका छन् । त्यस्तै करिव २० वटा पसलले पनि नियमित दूध लैजाने र उपभोक्तालाई बिक्री वितरण गर्दै आएको सहकारीका व्यवस्थापक वसन्तप्रसाद पराजुलीले जानकारी गराए  । 
    हाल सहकारीले रुपन्देहीका विभिन्न स्थान गोरकट्टा, धकधई, टिकुलीगढ समेतबाट दूध सङ्कलन गर्दै आएको छ भने सङ्कलित दूध तथा प्रशोधित दुग्धजन्य परिकार तिलोत्तमा–३ संस्थाको कार्यालयमा रहेको बिक्री केन्द्रबाट बिक्री वितरण हुँदै आएको कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्यले जानकारी गराए  । उनका अनुसार हाल संस्थाले सरदर दैनिक ६ सय लिटर दूध सङ्कलन गरी दूध तथा प्रशोधित दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको छ ।   रासस 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार