उम्मेदवार गाउँ–गाउँमा, मतदातालाई खेती स्याहार्न चटारो

मंगलबार, कात्तिक १५, २०७९

गलेश्वर ।  खेतबारीमा पाकेको धान र कोदो भित्र्यउन व्यस्त किसानलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारका कुरा सुन्ने फुर्सद छैन ।   आगामी मङ्सिर ४ गते हुन लागेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचारप्रसारमा हिँडेका छन् । उम्मेदवारले समूह बनाएर म्याग्दीका गाउँबस्ती र खेतबारीमा पुगे पनि मतदाता भने आफ्नै काममा व्यस्त हुने गरेका छन् ।   निर्वाचन नजिकिँदै जाँदा दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिए पनि आम मतदाता खेतीपाती स्याहार्ने कामको व्यस्तताले उत्साहित बन्न सकेका छैनन । चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता तथा उनीहरुका कार्यकर्ता पुगेको गुनासो गरेका छन् । म्याग्दीको बेनी नगरपालिका– २ का नारायण सापकोटाले  विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिँड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पूरा गर्न नसकेको बताए  । “भोट माग्न आउँछन्, चुनाव जितेर गएपछि वास्तै गर्दैनन्”, उनले भने , “जनताको समस्या समाधानमा कोही पनि लागेन्  ।” 

    मालिका गाउँपालिका दुई रुम बेलीका जगबहादुर विकले चुनाव जितेर गएपछि नेताको अनुहारै देख्न नपाइने बताउँदै गाउँमा विकास पनि नभएको र दुःखी गरिबको अवस्थामा सुधार पनि नआएको बताए  । त्यस्तै मङ्गला गाउँपालिकाको रणबाङका हरिकृष्ण पौडेलले चुनावको बेला बाहेक अरु समयमा नेताले आफ्ना कार्यकर्ता बाहेक जनताको वास्ता नगर्ने गरेको  गुनासो सुनाए  ।  त्यस्तै, म्याग्दी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा जनताले जनताले बिकास सगै सुशासन, मौलिक हकको निर्वाध उपयोग चाहेको बतार्ए  । “नेताको भनसुनबिना कहिकतै केही कामै हुदैन”, उनले  भने , “दलका नेताले जनताका सामान्य काममा पनि पक्षपात गर्ने र राजनीतिक पूर्वाग्रह देखाउने गर्दा जनतामा उदासिनता देखिएको हो ।”  

    बेनी नगरपालिका– ५ का शिव जिसीले चुनाव जितेर गएपछि गाउँ नफर्किने प्रवृत्ति नेताले सुधार गर्ने र राजनीति गर्ने मान्छेले जनतासँगको सामिप्यता सधैँभरी कायम राखिराख्नु पर्ने सुझाव दिए। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् ।   

    प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र क  र  ख मा पाँच÷पाँचजना उम्मेदवार छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र क मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र ख मा ३७ हजार छ सय ४८ गरी जिल्लाभरी जम्मा ८६ हजार एक सय २० जना मतदाता छन् ।   रासस 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार