जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई

सोमबार, कात्तिक ७, २०७९

जुम्ला । देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताइन् । 
जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान यो वर्ष गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षाले क्षति पु¥याउँदा विशेषगरी सिञ्जा क्षेत्रका किसान मर्कामा परेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जाका सबै धान उत्पादन हुने खेतमा वर्षाले पूर्णरूपमा क्षति भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । 
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन जिल्लाका चन्दननाथ, तातोपानी, गुठीचौर, तिला र पातारासी गाउँपालिकामा यतिबेला घरमा धान भित्र्याउन सुरु भएको छ । मौसममा सुधार आएपछि जिउलोभरि मार्सीधान भित्र्याउा किसान लागिपरेका छन् । उनीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त हुने गरेका छन् । एक हप्तासम्म वर्षा नभएको भए सबै धान घरमा ल्याइसकिने तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईंले बताए । 
जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सीधान निकै लोकप्रिय धान बाली हो । पछिल्लो समय रोगकिराको सङ्क्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन्  । 
मार्सी धानको चामल प्रतिकेजी रु एक सय ५० देखि दुई सयमा बिक्री हुने गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए । जुम्ली मार्सीधानका लागि किसानको आफ्नै प्रकारको क्यालेन्डर छ । सोहीअनुसार प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने गरिन्छ । सो दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।  चैत १६ गते भिजाएको बीउ सुकाउने र चैत २० गते ब्याडमा लगेर छर्ने गरिन्छ । 
जेठ पहिलो सातादेखि धान रोप्न सुरु गर्ने, असारमा पहिलो सातामा गोडमेल गर्ने र २० दिनपछि दोस्रो गोडमेल हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष नौ सय ५० हेक्टरमा धान खेती गरिएकामा छ हजार सात सय ८५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सीधान उत्पादन हुने गरेको कार्यालयका प्राविधिक सुकिराम नेपालीले बताउनुभयो । जिल्लाका किसानलाई चन्दननाथ–१, ३ र लेकाली जातको धान सिफारिस गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 
विश्वकै उच्च स्थानमा रहेको यहाँको पातारासी गाउँपालिकाको छुमचौर जिउलोमा मार्सीधानको खेतीसमेत हुने गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार