जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

बिहीबार, असोज १३, २०७९

जुम्ला  । जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । अर्का एकजना घाइते भएका छन् ।हिमा गाउँपालिका-१ आचार्य लिहीमा स्याउ बाेकेको ट्रक दुर्घटना  हुँदा चालक विनाश लामाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।  उनका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक लामाको निधन भएको हो  । दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार टाउकोमा चोट लागेका न्यौपानेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ । हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका- १ को बझाङगे खोलामा भएको हाे । दुर्घटनापछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र प्रारम्भिक उपचार खर्च पनि व्यहोरिएको छ ।जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको ट्रक राति दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका-१ मा रहेको प्रहरी चौकीले उद्धार गरेको थियाे । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाइतेलाई तत्काल कर्णाली प्रतिष्ठान पुर्‍याएकाे थियाे ।
 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार