अज्ञात रोगले मनाङका चौरी बिरामी पर्न थाले

मंगलबार, भदौ २१, २०७९

मनाङ । हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।

केन्द्रका प्रमुख नारायण कुसुमले  खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिए । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”, उनले भने ।

समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । “भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भने । 

जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उनले बताए । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ । 

भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिए । हालसम्म ४२  चौरी बिरामी परेकामध्ये ३० मरेको उनले बताए । 

रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । “चौरीको गोबर परीक्षण गर्न नमूना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हुनसकेको छैन”, उनले भने, “हिमाली चौरीमा भाद्र–आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।”

रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ । 

सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यहीभदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ ।

ती बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्‍याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ ।
 
उनका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखापरेको छ । ती कलिला चौरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क  एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौरी मरेपछि किसान चिन्तित भएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार