स्थानीय पाठ्यक्रम लागू गर्दै काठमाडौँ महानगरपालिका

बुधबार, चैत ११, २०७७

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । 
कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो । कोरोना भाइरसका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र  सञ्चालन हुनेछ । कार्यान्वयनका लागि कामपाले अहिले विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइसकेको छ भने शिक्षक पनि पठाउन थालेको छ । निजी विद्यालयका शिक्षकलाई पनि कामपाले उक्त पाठ्यसामग्री पठनपाठन गर्न सक्ने तालिम सञ्चालन गरिरहेको कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । 
‘यस वर्षका लागि शैक्षिक सत्रको समय साढे दुई महिना मात्र बाँकी छ । यस समयमा जे–जति सकिन्छ पठनपाठन कार्य शुरु गर्ने हो’, प्रमुख सुवेदीले भने । यसका लागि पाठ्यक्रम सबै विद्यालयमा पुगिसकेको भन्दै उहाँले पाठ्यपुस्तक पनि तत्काल पठाइने जानकारी दिनुभयो । गत फागुन २८ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र कामपा प्रमुख विद्यासुन्दर शाक्यले सयुक्तरूपमा ‘येँ देय् म्हसीके’ (काठमाडौँ चिनौँ) नामक स्थानीय पाठ्यपुस्तक विमोचन गरिसकेका छन् ।  नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।  काठमाडौँ महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।
कामपा प्रमुख शाक्यले काठमाडौँ नेवारहरूको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको जानकारी दिए । 
पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा चुन्दा बज्राचार्यले  पाठ्यपुस्तकमा काठमाडौँ महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउँछन् ।  त्यसैगरी नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् ।  ‘बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिने छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ’, कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भने, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत  ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ  ।’ 
यस भाषा पठनपाठन गर्नका लागि कामपाले आफूमातहत रहेका सामुदायिक विद्यालयमा १७२ नयाँ शिक्षक  नियुक्ति गर्ने छ ।   
यसरी राखिने शिक्षकहरू सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । यही शैक्षिक सत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक÷एक वा विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । 
कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार ७९१  शिक्षक कार्यरत छन् ।–रासस

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार