हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

सोमबार, पुस १२, २०७८

मनाङ, १२ पुस । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ । 
चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । 
तर यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । 
ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए । “हिउँले चिसो  बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं”, उनले भने । 
हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । “कोरोना सङ्क्रमण्ले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुप¥यो । गत वर्ष चैतबाट सुरु हुन्थ्यो,” उनले भने, “कोरोनाले शैक्षिक सत्र नै फेर्नुप¥यो ।” 
आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए ।
ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको बताए । पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । “मङ्सिर १७÷१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुप¥यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं”, उनले भने ।  
उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन् । उनले भने, “हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।” 
स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उनले बताए । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् । 
नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, “गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।” उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ । 
सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताए । गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । “कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,” प्रधानाध्यापक कोइराला भन्छन्, “बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुप¥यो ।” 
उनका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिबारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । “तीन महिना जति पढाए पनि परीक्षा भने अर्धवार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौं । नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौं”, उनले भने ।  
उनका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ । मनाङमा जनजीवन कष्टकर बनेको छ । “केही हुन्छ कि भनेर अलि अलि ढिला ग¥यौं । तर साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं भन्ने सोचर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुनसक्ने भएकाले छिटोछिटो परीक्षा ग¥यौं”, उनले भने । 
चामे गाउँपालिका शिक्षा तथा खेलकूद शाखा संयोजक इन्द्रजङग गुरुङका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ । पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए ।  “हिमपातले असर गरेन भने माघ १६ गतेबाटै खुला गर्छौै । हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेबाट जसरी पनि विद्यालय खुलाउनु पर्ने हुन्छ”, उनले भने । 
नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेबाट हुने बताए। उनले भने, “जाडो बिदा खासगरी ११ गतेबाट हुन्छ । स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं ।” उनका अनुसार फागुन १ गतेबाट पठनपाठन सुरु हुनेछ । अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको उनले बताए । 
शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका गरिएको बताए । चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले बताए । उनले भने, “हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर स्थानीय तहले जाडो बिदा दिएको छ ।”
शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा ५ दिन स्थानीय बिदा लिने व्यवस्था अनुसार बिदा बढाइएको छ । तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन् । 
मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक ९आधारभूत० गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउने÷जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय समेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ । 

हुम्लामा पुनः हिमपात भएपछि किसान खुशी
उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।   
अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।
ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिनुभयो ।  “हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ ।” उनले भने, “हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन ।” 
गत मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ । जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालयले जनाएको छ ।

हिमपातले दक्षिण क्षेत्रका किसान खुसी

लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी छन् । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुुशी भएका  अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए। हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उनले बताए ।–रासस 


 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार