इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुनः बन्द

सोमबार, साउन १८, २०७८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ ।  शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतबार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो । यसअघि गत असार १ गते याँग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । करिब डेढ महिनापछि गत बुधबार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतबार राति १० बजेदेखि पुनः बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए । सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र  एउटा भाँचिएको छ । यसको मर्मत गर्न सहज अवस्था भए कम्तीमा १५ दिन लाग्ने उनको भनाइ छ ।  अविरल वर्षाका कारण बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको  लाइनमासमेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । इन्द्रावती  तेस्रो जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको र बाहुने पाटी, फट्टे, सिमखेतदेखि तालामाराङ तथा हेलम्बुको ग्याल्थुम, चनौटे, किउललगायत क्षेत्रमा  बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको  लाइनमा समस्या रहेकाले विद्युत् पुनः सञ्चालन हुन केही समय लाग्ने  हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए।
बाँकी रहेको बाटोघाटो, पक्की तथा झोलुङ्गे पुलहरूसमेत बाढीले बगाउँदा मर्मतसम्भार र पुनः निर्माण झन कठिनाइपूर्ण रहेकाले समय लाग्ने उनले बताए । छिमेकी वितरण केन्द्रहरूसँगको समन्वयमा वैकल्पिक  रुटबाट सम्भव भएसम्म विद्युत् पुनः सञ्चालन गर्न प्रयास भइरहेकाले परिस्थितिको गाम्भीर्यतालाई बुझी  केही समय धैर्य गरिदिनु  सबै ग्राहक वर्गमा उनले अनुरोध गरे ।  वैकल्पिक  रुटबाट ल्याइएको विद्युत् पूर्ण क्षमताको नहुने अर्थात् कम भोल्टेज आउने स्थानीयवासीको गुनासो छ । अहिले मेलम्ची बजारमा वैकल्पिक  रुटबाट ल्याइएको विद्युत् परीक्षण भइरहेको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए । 

रेडियो प्रसारणमा पुनः समस्या
रेडियो मेलम्चीको प्रसारणमा पुनः समस्या आएको छ । यही साउन १६ गते मेलम्चीमा ठूलो बाढी आएसँगै विद्युत्का पोल ढल्दा अप्टिकल फाइबरसमेत लछारेर दुबाचौरस्थित टावरसँगको सम्पर्क विच्छेद हुँदा प्रसारणमा समस्या आएको हो । बजार क्षेत्रबाट अप्टिकल फाइबरले लिङ्क गरेर रेडियो सञ्चालनमा ल्याइएको थियो । अहिले दुबाचौरबाट नै रेडियो सञ्चालन गरिरहेको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए । दुबाचौरमा अहिले बत्तीसमेत नहुँदा जेनेटर चलाएर रेडियो सञ्चालन गर्नु परेको उनले बताए । साबिकको प्रसारण समयानुसार रेडियो सञ्चालन गर्ने हो भने दैनिक तेल  खर्च धान्न गाह्रो हुने उनको भनाइ छ ।  खर्च थेग्न मुस्किल भएकाले अहिले रेडियो दिउँसो प्रसारण बन्द गर्ने रेडियोका प्रशासन प्रमुख सागर खड्काले जानकारी दिए । बत्ती नियमित भई लिङ्कसमेत तयार भएपछि मात्रै रेडियो पूर्ण रुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।  यसअघि गत असार १ को भीषण बाढीले रेडियो भवन पुरिएकामा साउन १६ गते फेरि आएको बाढीले रेडियो भवन बगाएको छ । समुदायको सहयोगमा बनेको रेडियो भवन पूर्ण रुपमा नष्ट भएपछि झनै दुःख लागेको रेडियोका अध्यक्ष भारतीले बताए । “रेडियोको संस्थागत विकास गर्ने लक्ष्यस्वरुप गरिएको दुःख सबै खेर गएको छ । सयौँ जनाको आर्थिक सहयोग, हजारौँको सद्भावमा अघि बढ्ने कोसिस गर्दागर्दै पछारिने गरी ठेस लागेको छ”, उनले भने, “उठ्ने प्रयासमा छौँ, समुदायको माया नै हाम्रो ऊर्जा हो । अरू विकल्प त केही पनि छैन ।”
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार