प्रधानमन्त्रीलाई भेटेपछि कांग्रेस नेताले देखे तीन चरणमा चुनाव हुने सम्भावना

मंगलबार, मंसिर २, २०८२

काठमाडौं । चर्को आन्तरिक विवादमा परेको पार्टी नेपाली कांग्रेसका केही नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् । त्यस भेटपछि चुनाव हुने विश्वास बढेको प्रतिक्रिया उनीहरूको छ । भेटघाटमा जानेहरूमा फागुन २१ गते घोषित चुनाव हुनेमा शङ्का गर्ने केही नेताहरू पनि थिए । नेता गुरुराज घिमिरेले यसअघि पार्टी नेतृत्व परिवर्तनको खाँचो औँल्याउने क्रममा चुनाव भए नयाँ अनुहार लिएर होमिने र नभए आन्दोलनमा जान पनि नयाँ नेतृत्व आवश्यक हुने बताएका छन् । ‘आजको भेटपछि चुनाव हुनेमा मेरो विश्वास अझै बढेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले लोकतान्त्रिक शासन प्रणालीका निम्ति चुनावको विकल्प नरहेको भन्दै वातावरण बनाउन दल र आम नागरिकलाई आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जसरी भन्नुभयो, मेरो विश्वास पहिलेभन्दा बढेको हो ।’ प्रधानमन्त्री हुँदा प्राप्त निर्वाचन गराउने जिम्मेवारी पूरा गर्न कार्की पूर्ण प्रतिबद्ध रहेको उनले सुनाए ।
भेटघाटमा सहभागी अर्का नेता राजेन्द्र बजगाईँका भनाइमा पनि प्रधानमन्त्री चुनाव गराउन ‘असाध्यै दृढ’ देखिएकी छन् । ‘हाउभाउ र वचनले उहाँ चुनाव गराउन स्पष्ट हुनुहुन्छ,’ नेता बजगाईँले भने, ‘तोकिएकै मितिमा चुनाव गराउन निकै दृढ देखिनु भयो, तर हिमाली जिल्लामा हिउँ पर्‍यो भने त्यहाँ फेरि पनि गर्न सकिन्छ भन्ने छ।’

pm-1763468915.webp
 

किन तीन चरणमा चुनाव ?
फागुन २१ गते देशैभरि एकै चरणमा निर्वाचन हुने सम्भावना कमजोर रहेको कतिपयको आकलन पाइन्छ । त्यति बेला हिमाली जिल्लाहरूको मौसम निर्वाचनको निम्ति अनुकूल नहुने भन्दै उनीहरू चरणबद्ध चुनाव हुने तर्क गर्छन् । तर कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ‘अहिले एकै चरणमा हुन्छ ।’ कांग्रेस नेता गुरुराज घिमिरेले आज प्रधानमन्त्रीसँगको भेटपछि चुनाव चरणबद्ध रूपमा हुने सम्भावना देखेको बताए ।
‘किनभने हिमालमा त्यो बेलासम्म हिउँ रहन्छ । त्यसैले तराईका भूभाग र क्रमिक रूपमा पहाड हुँदै हिमाली क्षेत्रसम्म तीन चरणमा चुनाव हुने सम्भावना देखियो ।’ उनले भने ।
उनले त्यो सङ्केत प्रधानमन्त्री कार्कीबाटै पाएका हुन् ? ‘पहिलो कुरा दलहरूबाट निर्वाचनको पक्षमा प्रतिबद्धता आउनुपर्‍यो, त्यसको निम्ति काम गर्नुपर्‍यो र असहयोग पुग्ने काम गर्न भएन,’ प्रधानमन्त्रीको भनाइ सुनाउँदै नेता घिमिरेले भने, ‘आफू भने तोकिएकै मितिमा निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध रहेको तर चुनावको निम्ति समय नपुगेमा वा व्यावहारिक कठिनाइ भएमा राजनीतिक दलहरूले आवाज उठाउनुपर्‍यो भन्ने उहाँको भनाइ थियो ।’ तर सरकारको पक्षबाट त्यो सम्भावनाबारे अहिलेसम्म कसैले पनि मुख खोलिसकेका छैनन् ।

पार्टीको आन्तरिक विवादबारे प्रधानमन्त्रीको कस्तो चासो ?
कांग्रेसभित्रको आन्तरिक विवादले निर्वाचनमा सहभागी हुने उसको तयारीलाई असर पार्ने अवस्थामा अन्ततः निर्धारित निर्वाचनसमेत प्रभावित हुने कतिपयको आशङ्का पाइन्छ । नेता घिमिरेका अनुसार प्रधानमन्त्री कार्कीले प्रजातन्त्रका निम्ति दलको विभाजन वा टुटफुट राम्रो नहुने बताएकी छन् । ‘आफूहरू राजनीतिबाट अलग व्यक्तिहरू सरकारमा रहेकाले सिङ्गो मन्त्रिपरिषद्ले दलविशेषको आन्तरिक गतिविधिप्रति चासो र सरोकार राख्दैन भन्ने उहाँको भनाइ थियो,’ नेता गुरुराज घिमिरेले भने, ‘तर दलभित्रको अन्तर्कलह वा विभाजनले चुनाव गराउने कुरालाई असहयोग पुग्ने अवस्था आउन सक्नेतर्फ उहाँ सजग गराउनुभयो ।’ त्यसैले प्रधानमन्त्रीले एकताबद्ध भएर अगाडि बढ्न सुझाव दिएको उनको भनाइ थियो । तर अर्का नेता राजेन्द्र बजगाईँले प्रधानमन्त्रीमा दल विशेषको आन्तरिक विवादलाई लिएर सरोकार नदेखिएको अनुभव सुनाए । ‘उहाँसँगको आजको भेटपछि म चुनाव हुनेमा पूर्ण आश्वस्त छु,’ उनले बताए ।

‘एमालेलाई साथ रहन्न’
अर्को दल नेकपा एमालेले भने चुनाव हुनेमा शङ्का गरिरहेको छ । उसका प्रमुख नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जोड दिइरहेको पनि देखिन्छ । त्यसको निम्ति उसले सांसदहरूकै तर्फबाट अदालतको ढोका ढकढक्याउने विकल्पबारे पनि पहल गरिरहेको र कांग्रेसको साथको अपेक्षा गरिरहेको खबरहरू आइरहेका छन् । तर नेता बजगाईँका बुझाइमा एमाले निर्वाचन हुन सक्दैन भन्ने र त्यसको पनि तयारी गर्ने दुई थरी रणनीतिमा छ ।
‘अरूलाई भुलाउने एमालेको चरित्रमा कांग्रेस पर्नुहुँदैन भन्ने मेरो मान्यता छ,’ उनले बताए । नेता घिमिरेले पनि पुनर्स्थापनाको विषय न्यायपालिकाको क्षेत्राधिकारभित्र पर्ने र त्यसका निम्ति कांग्रेसभित्र कुनै निर्णय नभएको बताए ।
‘चुनाव नभएपछिका विकल्पहरूमध्ये त्यो पनि एउटा हो,’ उनले भने, ‘तर त्यो प्राथमिकताको विषय होइन, कसले के भन्ला त्यतातिर ध्यान दिने होइन, पार्टीले चुनावमा जाने निर्णय गर्छ।’–बीबीसी 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार