सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । गएको भदौ र असोज महिनामा तामाकोशी नदीमा आएको बाढीले निक्कै क्षति पुर्यायो । बस्ती नजिकै तामाकोशी नदी पसेर कटान गर्यो । फेरी त्यस्तै बाढी नदीमा आयो भने बस्ती जोखिममा पर्ने अवस्था सिर्जना भयो । नदीले बस्तीमा नै क्षति पुर्याउने अवस्था सिर्जना भएपछि मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायको बैठक बस्यो । बस्ती जोगाउन के गर्ने ? समूहमा लामै छलफल भयो । ग्याभिनवाल लगाउन पाए गाउँ जोगिन्थ्यो भन्ने निष्कर्ष निस्कियो । ‘ग्याभिन वाल लगाउन जाली खोजियो, विपद् व्यवस्थापन समिति रामेछाप मार्फत पाँच लाख रुपैँया आयो । करिब १५ मिटर जाली भर्ने, खेल मैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काम गर्दा सो पैसा सकियो । पूरै गाउँ संरक्षण गर्नेगरी तारजाली पाइएन, पुगेन’, स्थानीय बालकृष्ण माझीले भने । ल्याएको तारजाली स्थानीयले भरे । तर तारजालीको पर्खाल अपुरो भयो । ‘अब के गर्ने ? बुढापाकाहरूले फुको गाह्रो लगाउने उपाय निकाले, पहिला पहिला पनि चौडा खालका फुको पर्खाल लगाउने चलन थियो । त्यस्ता फुको पर्खालले नदी कटान जोगाउन निक्कै सहयोग गरेका थिए । हाम्रो गाउँमा पनि पुरानो फुको गाह्रो थियो । त्यसैले फुको गाह्रो लगाउने निष्कर्षमा पुगेका हौँ’, बालकृष्णले भने । त्यसपछि गाइखुराका माझीहरू घरलौरी श्रमदानमा निस्किए । श्रम गर्नेहरूको लागि घरमा नै स्थानीय मुन (जाँड) तयार भयो । तिहारमा देउसी खेलेर जम्मा गरेको रकमबाट खाजाको बन्दोबस्त गरियो । बिहान ५ बजेदेखि नदीका ढुङ्गा नतात्दासम्म श्रमदान गर्न गाउँलेहरू जुटे । के महिला, के पुरुष सबै सराबरी खटे । लगातार एक हप्ता ४० देखि ५० जनासम्मले श्रमदान गरे । श्रमदान गरेरै स्थानीयले लामो सुक्खा पर्खाल लगाएका छन् । सो पर्खालले गाइखुराको ८५ घरधुरीलाई जोगाउने स्थानीयको विश्वास छ ।