बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने निर्णय

बुधबार, वैशाख २४, २०८२
मयुर प्लाई

काठमाडौं । काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले ठगी मुद्दा चलाउने निर्णय गरेको छ ।  महान्यायाधिवक्ता कार्यालयले बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो । अनाथका लागि सरकारले संगठनलाई उपलब्ध गराएको जग्गा तेस्रो पक्षलाई बद्नियतपूर्ण रुपमा दिइएको भन्दै यसमा ठगी भएको महान्यायाधिवक्ता कार्यालयले किटान गरेको हो । २०८१ वैशाख दोस्रो साता नेपाल बाल संगठनले बृहस्पति विद्या सदनसँग गरेको लिज सम्झौता खारेज गरेको थियो । त्यसपछि बृहस्पति यसविरुद्ध उच्च अदालत पाटन गएकोमा दुवै पक्षलाई ‘आर्बिटेसन’बाट विवाद सुल्झाउन र मुद्दामा नलैजान चलखेल भएको थियो । मिलेमतोमा संगठनले २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने गरी बद्नियतपूर्ण निर्णय गरेको थियो । बालमन्दिरको जग्गा संगठनका तत्कालीन अध्यक्ष र पदाधिकारी तथा कर्मचारीले बृहस्पतिसँग सेटिङ गरेर हिनामिना गरेको तथ्य बाहिर आएको थियो । 
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले यो प्रकरणमा ठगी भएको देखिएकोले तदनुसार दोषीउपर मुद्दा दायर गर्न सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्देशन दिइएको बताए । अनाथ बालबालिकाको हेरचाह र रेखदेखका लागि पञ्चायतकालमै सरकारले बालमन्दिरका नाममा कायम गरेको जग्गा बालसंगठनका पदाधिकारी एवं कर्मचारी र बृहस्पतिका सञ्चालकले मिलेमतोमा २०४९ देखि भोग गरिरहेको जग्गा प्रकरणमा महान्यायाधिवक्ता काार्यलयले ठगीमा मुद्दा चललाउने निर्णय गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिनामिनाविरुद्ध अनुसन्धान गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा केही महिनाअघि नै पठाए पनि मुद्दा दायर नभई रोकिएको थियो । सोही अनुसन्धान प्रतिवेदनअनुसार ठगीमा मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयबाट निर्णय भएको हो । हाल उपप्रधान तथा सहरी विकासमन्त्री रहेका कांग्रेस नेता प्रकाशमान सिंहकी सहोदर दिदी रीता सिंह वैद्य अध्यक्ष रहेका बेला बालमन्दिरमा बृहस्पतिलाई छिराएर ८२ वर्षसम्मका लागि जग्गा लिजमा दिन योजनाबद्ध रूपमा निर्णय भएको थियो । त्यस क्रममा आर्थिक चलखेल र संगठनलाई हानि पुर्‍याएर जग्गा हिनामिना गरेको भन्दै बाल संगठनले हिनामिनामा संलग्नविरुद्ध अनुसन्धान गर्न २०८१ वैशाख १४ मा सीआइबीमा पत्र पठाएको थियो । त्यही दिन बृहस्पतिसँगको लिज सम्झौता खारेज गरेको थियो । त्यसकै आधारमा अनुसन्धान सकेर सीआईबीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । संगठनले बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिज (सस्तो भाडा दर) मा दिने गरी भएको सम्झौता खारेज गरेको थियो । त्यसपछि बृहस्पति खारेजको निर्णयविरुद्ध पाटन उच्च अदालत गएको थियो । संगठनकी अध्यक्ष विद्या न्यौपानेले लिज सम्झौता सकिन १७ वर्ष अवधि बाँकी छादै थप ४३ वर्ष बृहस्पतिलाई दिने गरी पहिले भएको सम्झौता खारेज गरेकी थिइन् । बृहस्पतिले संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहितका पदाधिकारी तथा स्वार्थ समूहको मिलेमतोमा २९ रोपनी जग्गा वार्षिक ९० लाख रुपैयाँमा भाडा बुझाउने गरी बिनाप्रतिस्पर्धा हत्याएको थियो । बृहस्पतिले जग्गा लिजमा पाएपछि एउटै व्यवस्थापनबाट सञ्चालन हुने गरी भारतीय शिक्षा बोर्डअन्तर्गत सञ्चालित राई स्कुललाई भित्र्याइएको थियो । त्यसबापत वार्षिक ६० लाख राई स्कुलबाट लिने गरी बृहस्पतिले सम्झौता गरेको थियो । लिखितमा भने त्यो रकम १ लाखमा देखाइएको छ । वि.सं. २०२१ साल मंसिरमा तत्कालीन सरकारले सीता भवन नामले चिनिएको उक्त परिसरको १ सय १९ रोपनी जग्गा राणा प्रधानमन्त्री भीम शम्शेरका खलकलाई मुआब्जा दिई अधिग्रहण गरेको थियो । यसरी अधिग्रहण गरिएको जग्गा अनाथ र असहाय बालबालिकाको रेखदेख, शिक्षा र संरक्षणका लागि बाल संगठन खोली प्रयोग गरिएको थियो । २०४९ सालसम्म बाल संगठनकै हक हितको लागि जग्गा उपभोग हुँदै आएकोमा रीता सिंह वैद्य संगठनको अध्यक्ष भएपछि संदिग्ध रूपमा बृहस्पतिलाई लिजमा छिराइएको थियो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार