बर्षौदेखि ‘कालापहाड’ : न प्रगती, न मनमा सन्तुष्टि

बिहीबार, वैशाख १८, २०८२
मयुर प्लाई

सुर्खेत । कालिकोट नरहरीनाथ–३ का गणेश न्यौपाने हरेक बर्ष दशैंमा मात्र घर आउँछन् । दशैं सकिने बित्तिकै उनी आफ्नो ड्युटीमा फर्किने दिनको तय हुन्छ । एक महिना पनि घरमा आफन्त र साथीहरुसंग रमाउन नपाउँदै उनी झोला बोकेर भारत लाग्छन् । भारतको बैङलोरमा उनले मजदुरी गर्न थालेको एक दशक बित्न थाल्यो उनको दैनिकी फेरिएको छैन । सुरुमा एक्लै बेङ्लोर बसेका उनले केही बर्षपछि श्रीमतीलाई पनि संगै लिएर काम गरिरहेका छन् । बेङलोरको कमाईले उनले छोराछोरी पढाउने र घरको खर्च धान्ने गरिरहेका छन् । दैलेखको गुराँस गाउँपालिका–६ का आइते नेपालीले २० वर्षदेखि भारतमै मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । बर्षौदेखि भारतमा काम गर्दै आएका उनको कमाइले न त घर व्यवहार राम्ररी चलेको छ त त उनी सन्तुष्ट नै छन् । दैलेख आठबीस नगरपालिकाका देउराम नेपाली उमेरले ५० बर्ष पुग्न लाग्दा उनको कमाउने र परिवार पाल्ने माध्यम बनेको छ भारतकै मजदुरी । धेरै समय भारतको नैनितालमा मजदुरी गर्ने देउराम नैनितालमा मिस्त्री भनेर नेपालीमाझ चिनिन्छन् । उनले पर्खाल लगाउने काम गर्दै आएका छन् तर कहिलेकाहीं काम नपाउँदा निर्माण सामग्री ओसारपसार पनि गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । आफ्नो खेतबारीको उब्जनीले ६ महिना पनि खान नपुग्ने भएपछि भारत जानुको विकल्प नभएको उनको अनुभव छ । ‘गाउँमा कमाउने केही माध्यम छैन’ उनले भने, ‘पाँच जनाको परिवार पाल्न उनीहरुलाई पढाउन पनि भारत नगइ हुँदैन ।’ कालिकोटका गणेश, दैलेखका आइते र देउराम त प्रतिनिधी पात्र हुन् । कर्णालीका अधिकांशको रोजगार गन्तव्य भारतका विभिन्न स्थानहरु नै हुने गरेका छन् । सुरुमा भारतको नैनितालमा मजदुरी गरेका कालिकोटका गणेश न्यौपानेले पछिल्लो एक दशकदेखि बेङ्लोरमा बस्न थालेको बताए । ‘सुरुमा त विभिन्न ठाएँहरु चहार्नुपर्‍यो’ उनले भने, ‘पछिल्लो १० बर्षदेखि बेङ्लोमा श्रीमतीसहित बस्दै आएको छु ।’ उनले अन्य स्थानको भन्दा बेङ्लोरमा काम पाइने भएकाले त्यहा धेरै नेपालीहरु आउने गरेको बताए । काम गर्न सहज हुने र महिलाहरुले पनि घरायसी काम पाउने भएकाले नेपालीहरुको गन्तव्य बेङ्लोर बनेको उनको भनाई छ । ‘धेरै नेपालीहरु बस्ने भएकोले बेङ्लोरमा नेपालमै बसेको जस्तो लाग्छ’ उनले भने । सुरुमा एक्लै काम गरेका गणेशले पाँ बर्षयता श्रीमतीलाई पनि संगै लिएपछि केही कमाई जोगाउन सकेको उनले बताए । ‘एक जनाको कमाईले घरखर्च धान्न र दुई छोरालाई स्कूल पढाउन पनि समस्या थियो’ बेङ्लोरमा रहेका उनले टेलिफोनमा भने, ‘अहिले श्रीमती पनि काममा लागेपछि मेरो कमाई बचाउने गरेको छु ।’ पछिल्लो दुई बर्षमा केही पैसा जम्मा गरेको उनले बताए । रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा धाउन थालेका दैलेखका देवीलालको रोजीरोटीको दौडाइ अहिलेसम्म चलिरहेको छ । ‘कमाइका लागि गाउँका सबै जाने भारतमै जाने हो भनेर उतिबेला पढाइ पनि बिग्रियो’ उनले भने, ‘साथीहरुकै लहलहैमा लागेर भारत जान थालेँ । अहिले भारतमै निर्भर हुनु परेको छ ।’ भारतको कमाइले घरखर्च धान्नबाहेक अरु केही प्रगती गर्न नसकेको देवीलालको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार