सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले ६ जना डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको हो । बढुवा सिफारिसमा परेकामा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन् । खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन् । नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए । समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन् । यो सिफारिसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएको टोली छुटेको छ । सिफारिसमा २०५४ सालमा भर्ना भएको टोलीमा समेत वरियता मिचिएको छ । यो टोलीका कार्कीलाई पहिलो वरियतामा बढुवा सिफारिसमा गरिएको छ । दोस्रो वरियतामा रहेका केसीलाई तेस्रो र तेस्रोमा रहेका अधिकारीलाई दोस्रो नम्बरमा सिफारिस गरिएको छ । केसी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धान सुरू गरेका अधिकृत हुन् । उनी यो सिफारिसमा अन्तिम समयमा मात्रै अटाएका छन् । उनलाई बढुवाबाट रोक्ने प्रयत्न भएको थियो । तेस्रो वरियतामा रहेका अधिकारी प्रधानमन्त्री केपी ओलीनिकट थिए । उनलाई दोस्रो वरियतामा तान्दा केसी धकेलिएका छन् । ‘अधिकारीलाई अगाडि ल्याउने र केसीलाई बढुवामै छुटाउँदा नकारात्मक सन्देश जाने भएपछि अन्तिम समयमा उनलाई सिफारिसमा समेटिएको हो,’ बढुवा समिति स्रोतले भन्यो । उक्त स्रोतका अनुसार केसीलाई छुटाएर २०५३ को टोलीबाट सिद्धिविक्रम शाहलाई समावेश गर्न खोजिएको थियो । अन्तिम समयमा तेस्रो वरियतामा चित्त बुझाउन केसी तयार भएपछि बढुवा समितिले सूची निकालेको उक्त स्रोतले बतायो । केसीले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोबहादुर रायमाझीलगायत रहेको ‘गिरोह’को फाइल खोलेका थिए । उक्त प्रकरणपछि राजनीतिक शक्तिकेन्द्र केसीसँग चिढिएको थियो । भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धासमेत रहेको यो बढुवा सिफारिसमा कार्की सबैभन्दा ‘सुरक्षित स्थान’मा छन् । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका डिआइजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत छुटेका छन् । नेपाल प्रहरीमा विद्यमान तीस वर्षे कार्यकाल कायम रहे हालका प्रहरी महानिरीक्षक दीपक थापा २०८२ भदौ ५ मा अवकाशमा जान्छन् । अहिले बढुवा सिफारिसमा परेका खापुङ भदौ ५ पछि दुई महिना प्रहरी नेतृत्वमा पुग्छन् । आचार्य जेठ र शर्मा भदौमा अवकाशमा जान्छन् । खापुङपछि नेतृत्वमा पुग्ने टोलीको सुनिश्चितता अहिलेको बढुवा सिफारिसले गरेको छ । सिफारिसमा परेका कार्की खापुङपछि प्रहरी नेतृत्वमा पुग्छन् । आचार्य र शर्मा अवकाशमा जाँदा २०५३ मा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएको टोलीका दुई जना एआइजी हुन सक्छन् । तर, कार्कीकै ब्याचमेटका डिआइजीहरू ईश्वर कार्की, दिनेश आचार्य, राजेन्द्रप्रसाद भट्टलगायतले टक्कर दिने सम्भावना छ । जेठ र भदौमा एआइजी रिक्त हुँदा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटे त्यसका सदस्यहरू डिआइजीबाटै अवकाशमा जानेछन् । त्यसकारण राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका सदस्य यो सिफारिसले असन्तुष्ट छन् । रवि लामिछाने गृहमन्त्री भएकै बेला कार्कीको टोलीलाई वरियता मिचेर बढुवा गरिएको थियो । अहिलेका गृहमन्त्री रमेश लेखकले त्यही बढुवालाई निरन्तरता दिएका छन् । लामिछानेले शाह नेतृत्वको टोलीलाई पाखा लगाएर कनिष्ठ टोलीलाई अगाडि ल्याई बढुवा गरेका थिए ।