गठबन्धनले भाग नदिएपछि राष्ट्रिय सभामा एमालेले १९ सिटमै प्रतिस्पर्धा गर्ने

आइतबार, पुस २२, २०८०

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि १९ उम्मेदवार छानेको छ। सत्ता गठबन्धनले आफ्ना लागि भाग नछुट्याएपछि एमालेले रिक्त सबै सिटमा उम्मेदवारी दिने गरी नाम टुंगो लगाएको हो । पार्टी महासचिव शंकर पोखरेलले आबइतबार जारी गरेको प्रेस विज्ञप्‍ति अनुसार एमालेले कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी कोइराला र भोजपुरका पर्शुराम अधिकारी, मधेशबाट पर्साकी उषादेवी थरुनी र महोत्तरीका डा. अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, बाग्मतीबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौंका विवेक देवकोटा र धादिङका ध्रुवराज विश्वकर्मा उम्मेदवारका रुपमा छानिएका छन् । गण्डकीबाट गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमन्द्र शेरचन, लुम्बिनीबाट दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षत्रीले उम्मेदवारी दिने भएका छन् ।
कर्णालीबाट हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विक तथा सुदूरपश्चिमबाट कैलालीकी सावित्रादेवी घिमिरे र रामचन्द्र जोशी तथा कञ्चनपुरका ईश्वरीप्रसाद खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको महासचिव पोखरेलले जनाएका छन् । एमालेको सचिवालय बैठकले शुक्रबार उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। एमालेले सत्ता गठबन्धनसँग आफूलाई ६ सिट दिन आग्रह गरेको थियो। तर गठबन्धनले एमालेलाई नदिने गरी सिट भागबण्डा गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार