१८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ 

शुक्रबार, पुस २०, २०८०

रौतहट । प्रहरीले १८ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।  गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई प्रहरीले १ हजार दरको नोट (१ हजार ८४३ वटा) १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो । 

देवाही गोनाही नगरपालिका–८ पटेल चोक नजिकबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।

नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटिएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा विहिबार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त घटनाबारे विवरण सार्वजनिक गरिएको हो । पक्राउ परेका यादवलाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

पछिल्लो समय रौतहटका विभिन्न ग्रामीण बजारहरुबाट फाटफुट रुपमा नक्कली नोटहरु बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो । 

प्रहरीका अनुसार गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर मेलाबाट गत असार २१ गते १ सय दरको ४ थान नक्कली नोटसहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । 

नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ । सोही पत्रकार सम्मेलनमा प्रहरीले धाकधम्की दिई फिरौती रकम माग्ने फतुवा विजयपुर नगरपालिका–८ बर्ष ३४ का श्रीभगवान साहलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । 

पुस १० गते देखि १८ गतेसम्म एक जना व्यापारीलाई पटक पटक फोन गरी ज्यान मार्ने धम्की सहित ५ लाख देखि ५० लाख रुपैयाँसम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । 

पक्राउ परेका साहलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार