साँझ बालुवाटारमा बैठक

राष्ट्रियसभाकाे सिट बाँडफाँटका लागि कसरत गर्दै सत्ता गठबन्धन र विपक्षी  

बुधबार, पुस १८, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको सबैभन्दा ठूलो नेपाली कांग्रेसका नेताहरूसँग पटक–पटक छलफल गरिसकेको भएपनि त्यसबारे सहमति भएको छैन । त्यसमाथि एमालेलाई समेत एक्लै नछोड्ने प्रधानमन्त्री दाहालको चाहनाले गठबन्धनमा सिट बाँडफाँट गर्न सकस परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच छलफल भएको थियो । त्यसक्रममा राष्ट्रिय सभामा रिक्त हुने सिटमध्ये गठबन्धनमा रहेका दलले आ–आफ्ना सिटमा उम्मेदवार उठाउने सहमति गरेका छन् । तर एमालेका ९ सिटको भागबण्डा कसरी गर्ने भन्ने विषयमा कांग्रेस र माओवादीबीचमै मतभेद छ । 
छलफलमा प्रधानमन्त्री दाहालसहित कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । 
बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँट गर्दै गर्दा एमालेलाई के गर्ने भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री दाहालले एमालेलाई समेटेर जाने वा उसका सबै सिटमा भागबण्डा गर्ने भन्ने विषयमा प्रष्ट प्रस्ताव गर्न सकेनन्, तर उनको चाहना भने प्रष्टै झल्किएको थियो ।  ‘गठबन्धनमा जसको जति सिट रिक्त हुँदैछ, ती सिट त्यही दलको हुने भन्ने विषय टुंगियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘अब बाँकी रहेका एमालेका ९ सहित १० सिटको भागबण्डा गर्नुपर्ने कुरा हो । त्यसमा गठबन्धनका दलहरूमात्रै होइन, एमालेलाई के गर्ने भन्ने समेत एजेण्डा आएको छ ।’
प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन एमालेको पनि साथ खोजिरहेका छन् । त्यहीकारण पनि दाहालले एमालेलाई पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा साथ लिन खोजेका छन् । त्यसो त प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय हिमचिम बाक्लिएको छ । 
दाहालको त्यस्तो प्रयासमा कांग्रेस सभापति देउवा समेत उति धेरै नकारात्मक छैनन् । ‘कांग्रेसको सहमति लिएर एमालेलाई पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा अटाउने गरी प्रधानमन्त्रीको प्रयास देखिएको छ, त्यसमा देउवा पनि सकारात्मक देखिनुभएको छ,’ ती नेताले भने । 
राष्ट्रिय सभामा अहिलेसम्म एमाले सबैभन्दा ठूलो दल हो । फागुन २० पछि एमाले राष्ट्रिय सभामा ९ सिटमा खुम्चिने छ भने राष्ट्रिय सभाको अध्यक्षसमेत गुमाउनेछ । त्यहीकारण एमाले पनि गठबन्धन दलहरूसँग नजिकिँदो छ । 
यसअघि एमाले अध्यक्ष ओलीले रिक्त हुनेमध्ये १४ सिट कांग्रेसलाई दिन तयार रहेको भन्दै अफर नै गरेका थिए । तर कांग्रेसले त्यसलाई महत्वका साथ लिएको थिएन । 
प्रधानमन्त्री दाहाल भने संक्रमणकालीन न्यायसहित अन्य कानूनहरू निर्माणमा सहयोग पाउने र भोलिको सम्भावित राजनीतिक गठबन्धनका लागि समेत एमालेसँगको सम्बन्धलाई मिलाउने प्रयासमा छन् । 
गतवर्ष १० पुसमा तत्कालिन चुनावी गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री दाहालले आफूले विश्वासको मत पाएपछि राष्ट्रपति निर्वाचनकै बेला एमालेलाई छाडेर नेपाली कांग्रेससँग हात मिलाएका थिए । त्यसयता केही समय ओली–दाहाल सम्बन्धमा तिक्तता थियो । तर अहिले भने ओली–दाहालबीच हार्दिकता बाक्लिएकै छ । 
त्यसो त कांग्रेसले पनि प्रमुख राजनीतिक शक्तिहरू मिलेर वर्तमान संविधान र व्यवस्थाको प्रतिरक्षा गर्नुपर्ने परिस्थितिको महसुश ग¥यो, र कांग्रेसकै संयोजनमा सोमबार मेलमिलाप दिवसको सन्दर्भमा प्रमुख दलका शीर्ष नेताले एउटै मञ्चमात्रै लिएनन्, लोकतन्त्रको प्रतिरक्षामा एउटै बोली बोले ।  मंगलबारको छलफलमा सहमति नजुटेपछि नेताहरू फेरि छलफलमा बस्ने गरी उठेका छन् । 
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र दुई राज्यमन्त्रीसहित २० जना सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदैछ । 
पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्दैछ, त्यसकालागि आगामी सोमबार अर्थात् पुस २३ मा उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।यसपटक पदावधि सकिनेमा एमालेबाट अध्यक्ष तिमिल्सिना र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित ८ जना, कांग्रेसका संसदीय दलका नेता रमेशजंग रायमाझीसहित ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चापाईंसहित २, जनता समाजवादीबाट शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी र गठबन्धनकै सहयोगमा निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि सकिँदैछ ।  यसमध्ये गठबन्धन दलहरू कांग्रेसले ४, माओवादी केन्द्रले ३, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिटमा कुनै भागबण्डा हुने छैन । त्यसबाहेक एमालेका ९ र स्वतन्त्र १ गरी १० सिटको भागबण्डा गर्ने दलहरूको तयारी रहेको छ । गठबन्धन दल एकजुट भएको अवस्थामा एमालेले कुनै पनि सिटमा निर्वाचन जित्ने सम्भावना छैन । 
त्यसमा कांग्रेसले सबैभन्दा ठूलो दलको हिसावले ६ सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले २, जनता समाजवादीले २ सिटमा दाबी गरेको छ । यीबाहेक गठबन्धनमा रहेका दलहरू जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि १–१ सिटमा दाबी गरेका छन् । 
तर हाल राष्ट्रिय सभामा नरहेका दलहरूसँग भागबण्डा गर्ने वा नगर्ने भन्ने विषयमा भने गठबन्धनमा अहिलेसम्म कुनै समझदारी छैन । कांग्रेस र माओवादी केन्द्रले साना दलहरूसँग छलफलसमेत गरेका छैनन् । 
सबै सिटमा जित्ने निश्चित जस्तै भएपछि गठबन्धनमा रहेका दलहरूमा भने आकांक्षी उम्मेदवारको लर्को छ । पार्टीका पदाधिकारी, प्रत्यक्ष चुनाव हारेका र समानुपातिकमा उम्मेदवार बनेर सांसद बन्न नपाएकादेखि नेताका श्रीमती र नातेदारसम्म उम्मेदवार बन्ने दौडमा छन् । 
कांग्रेसले अहिलेसम्म अवसर नपाएकाहरूलाई प्राथमिकतामा दिएर उम्मेदवार बनाउने मापदण्ड बनाएको छ भने अन्य दलले पनि अवसर नपाएकालाई प्राथमिकतामा राखेका छन् ।
माओवादी केन्द्रले घाइते, अपाङ्गता भएका र अहिलेसम्म अवसर नपाएकालाई प्राथमिकता दिने जनाएको छ । 
प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘अहिलेसम्म पार्टीमा हामीले पाउने सीट गठबन्धनमा भागबन्डालगायतका नीतिगत विषयमा छलफल भएको छ, तर टुंगिएको छैन । हामीले जति सिट पाउने हो त्यसमा जनयुद्धका घाइते, अपाङ्गता भएका र अहिलेसम्म अवसर नपाएकाहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउनेबारेमा छलफल भएको छ ।’
नेकपा एकीकृत समाजवादीले पनि पार्टीमा प्रत्यक्ष निर्वाचन लड्न मौका नपाएका नेताहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने जनाएको छ । 
यसपटक कोशी, मधेश र लुम्बिनीमा महिला र अन्य गरी दुई क्लष्टरमा १–१ पदका लागि निर्वाचन हुँदैछ भने बागमतीमा महिला, दलित, अपाङ्गता भएका र अन्य गरी ४ सिटमा निर्वाचन हुँदैछ । गण्डकीमा महिला, अपाङ्गता भएका र अन्य गरी ३ सिट, कर्णालीमा महिला, दलित र अन्य गरी ३ सिट तथा सुदूरपश्चिममा महिला, अपाङ्गता भएका र अन्य गरी ३ सिटमा निर्वाचन हुँदैछ । 

भागबण्डा मिलाउन कांग्रेस र माओवादीबिच आज पनि छलफल
राष्ट्रियसभा निर्वाचनको भागबण्डाबारे नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आज पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच छलफल भएको हो । छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
उपप्रधान तथा रक्षामन्त्री समेत रहेका खड्काले राष्ट्रियसभाका उम्मेदवार टुंग्याउन विषयमा छलफल भएको बताए । ‘राष्ट्रियसभा निर्वाचनको उम्मेदवार तय गर्ने सन्दर्धमा आज पनि छलफल भयो । यो नियमित छलफल हो,’ उनले रातोपाटीलाई भने, ‘राष्ट्रियसभा उम्मेदवारको भागबण्डा मिलाउने विषयमा छलफल भइरहेको छ । कसरी मिलाउने भन्ने टुंगेको छैन ।’
राष्ट्रियसभाको भागण्बडा नटुंगिएसम्म दलहरुका बिचमा बैठक चलिरहने उनको भनाइ छ । 
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।

एमालेलाई पनि सिट छुट्याउन कांग्रेस–माओवादी सकारात्मक

कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक देखिएका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ ।  स्थानीय र प्रदेशका जनप्रतिनिधि अनुसार गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना बढी छ । सत्ताका प्रमुख दुई दल राष्ट्रिय सभामा एमालेका पनि केही सांसद जिताउने गरी तालमेल गर्न सकरात्मक देखिएका हुन् । दुई दल विच भएको सहमतिमा थप छलफल गर्न सत्ता घटकका एकीकृत समाजवादी र जनता समाजवादी कांग्रेस–माओवादीले छलफल गर्ने भएका छन् ।
कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए । ‘एमालेलाई पनि केही सिट छुट्याउनु पर्छ भन्नेमा दुई दल सकारात्मक बनेका छौं, जसपा र एकीकृत समाजवादीसँग पनि हामी विच भएको छलफल जानकारी गराउँछौं,’ ती नेताले भने, ‘एमालेलाई कति दिने कुरा गठबन्धनका अरु दल र एमालेसँगै छलफल गरेर टुंगिन्छ ।’
दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार