भूकम्पको पूर्वतयारी गरेनौं भने ठूलो जोखिम उठाउनुपर्ने हुनसक्छ : प्रधानमन्त्री

बुधबार, पुस १८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपतको जोखिमबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताएका छन् । 
बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी अन्तरक्रियामा बोल्दै नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएकाले त्यसबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका हुन् । 
‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन् । वर्ष दिनभित्रै जाजरकोट, बझाङ्ग र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ,’प्रधानमन्त्री दाहालले भने । 
उनले थपे,‘असोज १६ गतेपछि एक महिनाको अन्तरालमा बझाङ र जाजरकोट भूकम्पको लगत्तै म दुवै स्थानमा पुगेँ । त्यहाँको अवस्था देख्दा लाग्यो,मध्यम खालको भूकम्प आउँदा त यस्तो अवस्था छ भने हालैको जापानमा गएको जत्रो ७.६ म्याग्निच्युडको भूकम्प वा २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी र क्षति हामीले झेल्न सक्थ्यौं होला र ?’
प्रधानमन्त्रीले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए । 
उनले भने,‘ विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ । त्यसैले यसपटक श्रृङ्खलाबद्ध रूपमा आएका भूकम्पहरूले हामीलाई जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ । त्यसैले पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त वजेटको व्यवस्था गर्ने विषयमा मेरो जोड रहेको छ ।’

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार