सकियो कांग्रेस बैठक

कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने 

आइतबार, पुस १५, २०८०


काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ । 
शनिबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पु¥याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमकितामा राखेर उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो । 
बैठकमा सदस्यहरूले पटक–पटक अवसर पाएका नेताहरूले नै राष्ट्रिय सभामा दाबी गरिरहेको भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने विषय महत्वका साथ उठाएका थिए । बैठकले पार्टीमा लामो समयसम्म योगदान गरेर पनि अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 
‘उम्मेदवार छनोट गर्दा लामो समयसम्म योगदान गरेका, तर अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय भएको छ । साथै, भुगोल, क्षेत्र र समुदायलाई पनि समेटेर समावेशीरुपमा उम्मेदवार चयन गरिनेछ,’ प्रचार विभागका प्रमुख विश्वकर्माले भने । बैठकले आगामी माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा समेत सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । 
कांग्रेसले बैठकका निर्णयहरू सार्वजनिक गर्न आइतबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार