मार्मिक छन् एम्बुलेन्स चालकका भोगाइ

सोमबार, जेठ ३, २०७८
Global Ime Bank

भजनी  । कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदापाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरु आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन् । 
कैलालीको टीकापुरका लोकेन्द्रबहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँछन् । त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै । शुरुआती दिनहरुमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले आफूलाई त्यस्तो असजिलो अनुभव नभएको उनी बताउँछन् । उनी भन्छन्, “कारोनाका बिरामी बोकदाबोक्दै कतै आफू पनि सङ्क्रमित त भएको छैन भन्ने आशङ्का भने जहिले नै हुने गर्दछ । आफ्नै कारणले परिवारका सदस्यलाई समेत सङ्क्रमण हुने हो कि भन्ने चिन्ता लाग्ने गर्दछ ।”
“पहिले त धेरै डर लाग्थ्यो । कामै सङ्क्रमित बोक्ने भएपछि विस्तारै सबै डर हराएको छ ।” लोकेन्द्रले भने, “डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छ । आफ्नोभन्दा बढी अरुलाई सर्ने हो कि भन्ने हुन्छ ।” लोकेन्द्रको चार जनाको परिवार छ । “अस्पतालले बस्नको लागि कोठाको सुविधा त दिएको छ । खाना खान घरै जानुपर्छ । घर जादा छुट्टै घरबाहिरबाटै खाना खाएर निस्कन्छु ।” लोकेन्द्रले भने, “सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको छ । छोराछोरी नजिक परिहाल्छन् । दिनभर सङ्क्रमित बोकेर घर जादा घरमा पनि त्रास हुन्छ । आफूलाई पनि ।”
अस्पतालमा कोरोना सङ्क्रमितलाई बोक्नको लागि छुट्टै एम्बुलेन्स छ । प्रायः अन्य एम्बुलेन्स गाउँबाट सङ्क्रमित ल्याउनुपर्ने भए जाँदैनन् । थप उपचारका लागि अन्यत्र पठाइएका बिरामीलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन् । 
टीकापुरका कृष्णबहादुर शाही २०६४ देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँदै आएका छन् । यतिबेला कोरोनाका बिरामी बोक्नु पर्दा उनलाई पनि आफ्ना कारणले परिवारका अन्य सदस्यलाई सङ्क्रमित हुने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । आफूमा त त्यस्तो त्रास नभएपनि घरपरिवार भने सधैँ त्रासमै रहेको शाही बताउँछन् । “हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौँ । दिनभर बिरामी बोक्नुपर्छ । साँझ घर पुग्दा घरमा त्रासको वातावरण हुन्छ,” शाहीले भने, “हामी त जोखिममा छौँ नै हाम्रा कारणले परिवार समेत जोखिममा छ ।” 
उनले आफ्ना कारण परिवार मात्रै नभई छिमेकीलाई समेत त्रास रहेको बताउनुभयो । एम्बुलेन्स चालकमा परिवारबाट छिमेकीहरु पनि टाढिएका छन् । त्यसले परिवारमा झन मानसिक चिन्ता थपेको उहाँहरुको गुनासो रहेको छ ।
कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिएको भएपनि एम्बुलेन्स चालकहरूले खाइपाइ आएको भन्दा अन्य कुनै सुविधा नपाएको गुनासो गरेका छन् । त्यति मात्र नभई सङ्क्रमित बोक्दा पिपिई समेत पाउन नसकिएको गुनासो एम्बुलेन्स चालकको रहेको छ । 
टीकापुरकै मुक्तिप्रसाद भट्टले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको एम्बुलेन्स चलाउँछन् । दश वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका भट्टले थुप्रै बिरामीलाई एम्बुलेन्समा सवार गरेको भएपनि अहिले जस्तो कठिन अवस्था यो भन्दा पहिला कहिल्यै नआएको बताए । उनी मनभित्र जतिसुकै त्रास भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताउछन् । “बस्नका लागि अफिसमै व्यवस्था गरिएको भए पनि खाना खान घर जानुपर्ने भएका कारण छुट्टै त्रास हुन्छ” भट्टले भने, “परिवारसँग बसेर खाने, भलाकुसारी गर्ने रहर भएपनि घरको बरण्डाबाटै खाना खाएर फर्किनुपर्छ ।” 
उनले कैयौं सङ्क्रमितलाई सेवा दिएको भएपनि उच्च मनोबल र सावधानीका कारण अहिलेसम्म कोरोनाको सङ्क्रमणले छुन नसकेको बताउँदै स्वास्थ्य सावधानी र उच्च मनोबल नै कोरिनाको औषधि भएको बताउछन् । टीकापुर अस्पतालको समन्वयमा अहिले आठ एम्बुलेन्स सञ्चालनमा रहेका छन् । गाउँसम्म कोरोनाको सङ्क्रमण फैलिएको हुँदा शुरुमै कुन कोरोना सङ्क्रमित हो भनेर छुट्याउन समस्या भएका कारण पनि एम्बुलेन्स चालक बढी जोखिममा रहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार