राष्ट्रिय सभामा जान कांग्रेसमा आकांक्षीको लर्को, प्रदेशबाट आकांक्षी सबैको नाम सिफारिस

बुधबार, पुस ११, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई नाम सिफारिस गर्न परिपत्र गरेकोमा आकांक्षीको लर्को देखिएको छ । केन्द्रीय कार्यालयले एक पदका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो । तर प्रदेश कार्यसमितिहरूले त्यसबारे छलफल समेत नचलाई आकांक्षी रहेका सबै नेताहरूको नाम संकलन गरेर केन्द्रलाई पठाइदिएका छन् ।  यसपटक जम्मा १९ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसमध्ये सत्ता गठबन्धनमा भाग लगाउँदा कांग्रेसले बढी पाए १० सिट हो । कांग्रेसमा मात्रै सिट संख्याभन्दा २० गुणा धेरै आकांक्षीहरू देखिएका छन् । उम्मेदवारका लागि प्रदेशबाट आकांक्षीहरूको नाम सिफारिस भएर आएपछि विधानबमोजिम केन्द्रीय संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ ।  उम्मेदवार चयनका विषयमा कांग्रेसले अहिलेसम्म कुनै मापदण्ड बनाएको छैन । तर बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा त्यसबारे छलफल हुने नेताहरूले बताएका छन् । 

आकांक्षी सूचीमा केन्द्रीय सदस्यमात्रै २५ जना
प्रदेश कार्यसमितिले तयार गरिरहेको आकांक्षीहरूको सूचीमा पार्टीका पूर्वपदाधिकारीदेखि हालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेशका पदाधिकारी र सदस्य तथा जिल्लाका नेताहरूसमेत छन् । कोही पटक(पटक अवसर पाएर अब फेरि चुनाव लड्ने र जित्ने सम्भावना टरिसकेका नेताहरू छन् भने कोही पुरै राजनीतिक जीवनभर अवसर नपाएका । 
प्रदेशबाट तयार भइरहेको आकांक्षीको सूचीमा २५ जना त केन्दीय कार्यसमितिका सदस्यहरू मात्रै आकांक्षी देखिएका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवारका आकांक्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्यको नाम आएको हो । कोशी र बागमतीबाट ८–८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी देखिएका छन् ।  मधेश र सुदूरपश्चिम प्रदेश समितिले भने नाम संकलन गरिसकेका छैनन् । 
हाल राष्ट्रिय सभाको अध्यक्षका लागि चर्चा भइरहेका नेता कृष्णप्रसाद सिटौला कोशीबाट सिफारिस भएका छन् । उनी कांग्रेसका पूर्वमहामन्त्री हुन् । तर सिटौलासँगै कोशी प्रदेश समितिले केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरूङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम पनि सिफारिस गरेको छ ।  
प्रदेश कार्यसमितिले पूर्वअर्थमन्त्री महेश आचार्य र पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरेको नाम पनि उम्मेदवारका लागि सिफारिस गरेको छ । कोशीबाट महिला १ र अन्य १ पदका लागि निर्वाचन हुँदैछ । 
बागमती प्रदेशबाट पनि केन्द्रीय सदस्यहरू मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै, कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी पनि सिफारिस भएका छन् ।  गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ । यहाँबाट पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे सहितको नाम सिफारिस भएको छ । 
कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीसहित ९२ जनाको नाम सिफारिस भएको छ । सर्खुेतबाट पूर्वसभापति डम्बर जिसी, पूर्वमन्त्री खड्गबहादुर बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ जना छन् ।  दैलेखबाट पूर्वसभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ । 
जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम छ । जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहलगायतको नाम सिफारिस भएको छ ।
कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौ जनाको नाम सिफारिस भएको छ । रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, सल्यानबाट पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफारिस भएको छ । 
मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ । डोल्पाबाट संविधानसभा सदस्य दुधकुमारी हमाल, टंक उपाध्यायलगायतको नाम सिफारिस भएको छ । कर्णालीमा तीन सिटका लागि निर्वाचन हुँदैछ ।  त्यस्तै, लुम्बिनीबाट केन्द्रीय सदस्यहरु गोविन्दराज पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ । तर पोखरेल, भुसाल, शाह र केसीसहित लुम्बिनीबाट मात्रै १२१ जनाको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार