पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मूल्यांकनमा प्रधानमन्त्री मोदी

जनताको भावना महसुस गर्ने क्षमता मोदीसँग मात्रै : प्रणव मुखर्जी

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं ।  कुनैबेला भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका निकटस्थ विश्वासपात्र रहेका स्वर्गीय पूर्वराष्ट्रपति तथा कांग्रेस नेता प्रणव मुखर्जीले आफ्नी छोरी शर्मिष्ठासँग भनेका थिए, ‘इन्दिरापछि जनताको नाडी छामेर उनीहरूको भावना महसुस गर्ने क्षमता कसैसँग छ भने त्यो प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र छ ।’
शर्मिष्ठा मुखर्जीले आफ्ना पितासँगको कुराकानीलाई संस्मरणका रुपमा प्रकाशन गर्न लागेको पुस्तक ‘प्रणब, माई फादरः ए डेटर रिमेम्बर्स’ मा यी प्रसंग उल्लेख गरेकी छन् । उनको डायरीबाट धेरै रोचक प्रसंगहरू पुस्तकमा समावेश गरिएको छ ।
कुनैबेला भारतको प्रधानमन्त्री बन्ने चाहना  राखेका तर परिस्थितिले देशको राष्ट्रपति बन्न वाध्य पारिएका प्रणवले छोरी शर्मिष्ठासँग गरेका कुराकानी पुस्तकमा समावेश गरिएको छ । 
भारतीय कांग्रेस आईका नेता राहुल गान्धीप्रति प्रणवको दृष्टिकोण पनि अरुको भन्दा फरक थियो भन्दै शर्मिष्ठाले पितालाई भारत रत्न प्रदान गरिएको समारोहमा उनले कैयौं रोचक प्रसंगहरू चर्चा गरेको उल्लेख गरेकी छन् ।
शर्मिष्ठाका अनुसार उनका पिता प्रधानमन्त्री बन्न इच्छुक भए तापनि कांग्रेस नेता सोनिया गान्धीले उनको कार्यक्षेत्रमा दख्खल दिने र सन् २००४ मा अर्का नेता मनमोहन सिंहलाई पद सम्हाल्ने मार्ग प्रशस्त गरेर आफ्नै परिवारको हितलाई सुरक्षित गर्ने सोचेका थिए ।
सन् २०१२ देखि २०१७ सम्म भारतको १३ औं राष्ट्रपतिको रूपमा सेवा गरेका प्रणव मुखर्जीले आफ्नी छोरीलाई पनि भनेका थिए, ‘२००४ मा यूपीएले बहुमत हासिल गरेपछि सोनियाको प्रधानमन्त्री पद त्याग्ने निर्णयबाट सम्पूर्ण कांग्रेस नेतृत्व र पार्टीका सहयोगीहरू स्तब्ध भएका थिए ।’
‘द पीएम इन्डिया नेभर ह्याड’ शीर्षकको अध्यायमा शर्मिष्ठाले लेखेकी छिन्, ‘सोनियाले प्रधानमन्त्रीको दौडबाट बाहिरिने निर्णय गरेपछि मिडिया र राजनीतिक क्षेत्रमा चर्को अड्कलबाजी भएको थियो ।’
‘डाक्टर मनमोहन सिंह र प्रणवको नाम पदका लागि शीर्ष दावेदारको रूपमा छलफल भइरहेको थियो । बाबा असाध्यै व्यस्त भएकाले केही दिन भेट्ने मौका पाइनँ, तर फोनमा कुरा गरेँ । मैले उहाँलाई प्रधानमन्त्री बन्ने हो कि भनेर उत्साहित हुँदै सोधेँ । उहाँको जवाफ स्पष्ट थिएन, ‘होइन, उनले मलाई प्रधानमन्त्री बनाउँदिनन् । मनमोहन सिंह हुनेछन् । तर उनले छिटो घोषणा गर्नुपर्छ । यो अनिश्चितता देशको लागि राम्रो होइन’, शर्मिष्ठाले लेखेकी छन् ।
पूर्वराष्ट्रपतिलाई राहुल गान्धीको नेतृत्व क्षमतामा पनि शंका रहेको प्रसंग पनि सो पुस्तकमा हुने छ । प्रणवले ‘धेरै विनम्र’ र ‘प्रश्नहरूले भरिएको’ भनेर राहुलको व्यक्तित्वको चित्रण गरेको सन्दर्भ पनि रहेको छ । पूर्वराष्ट्रपति प्रणवले राहुल ‘अझै राजनीतिक रूपमा परिपक्व हुन’ समय लाग्ने बताएका थिए ।
चारदिन पछि अर्थात् डिसेम्बर ११ मा सार्वजनिक हुने पुस्तकले कतिपय विवादास्पद विषयहरूलाई पनि उजागर गरेको शर्मिष्ठाले चर्चा गरेको दि टाईम्स अफ इन्डियाले लेखेको छ । भारतीय राजनीतिको शीर्ष स्थानमा बसेर सक्रिय जीवन बिताएका पूर्वराष्ट्रपति प्रणवले सबैजसो प्रधानमन्त्री र कैयौं नेताहरूसँगको सम्बन्धको बारेमा गरेका चर्चाहरु पनि पुस्तकमा समावेश रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार