महालक्ष्मी नगरपालिकाद्धारा उपभोक्ता समितिलाई प्रशिक्षण 

बिहीबार, असोज १८, २०८०

लुभु (ललितपुर) । ललितपुरको महालक्ष्मी नगरपालिकाले बजेटको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशिक्षित गराएको छ । 
नगरपालिकाले दुईवटा वडा वडा नं ८ र वडा नं ९ मा क्रियाशील उपभोक्ता समितिका पदाधिकारीलाई समिति गठन प्रक्रिया, उपभोक्ता समितिमा महिला सहभागिता, योजना सम्झौता, बिल विजक जारी गर्नेलगायतका विषयमा अनुशिक्षण गराएको हो । 
‘उपभोक्ता समितिहरूलाई अनुशिक्षण कार्यक्रम’ नाम दिएर आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा नगरपालिकाका योजना तथा अनुगमन, आन्तरिक लेखा परीक्षण शाखाका कर्मचारीले उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गराएका थिए ।

jaya1696477158.jpg
अनुशिक्षण कार्यक्रममा सहभागी उपभोक्ता समितिका पदाधिकारीले कर्मचारी तथा प्राविधिकहरूको कार्यशैलीप्रति असन्तुष्ठि जनाएका थिए । सम्झौता अनुसार काम नहुँदा योजनाको बजेट फस्यौटमा समस्या पर्ने गरेको बारेमा नगरपालिकाका कर्मचारी–प्राविधिकहरूले सहभागीहरूलाई अवगत गराएका थिए । 
‘उपभोक्ता समितिहरूलाई अनुशिक्षण कार्यक्रम’ का प्रमुख अतिथि नगर प्रमुख हरिगोविन्द श्रेष्ठले उपभोक्ता समिति गठन गर्दा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएकोतर्फ सतर्क हुन उपभोक्ता समितिलाई झक्झकाउनु भयो । 
महालक्ष्मी नगरपालिकाले समयै काम गर्ने परिपाटीलाई उच्च प्राथमिकता दिएको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘त्यसैले समयमै काम सम्पन्न गर्ने विधि र प्रक्रिया थाहा दिनका लागि यो अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।’

viber_image_2023-10-04_21-36-35-4901696477151.jpg
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख, उपभोक्ता समितिका पदाधारीसहितका सहभागीहरूलाई विशेष अतिथि ९ नं वडाका वडाअध्यक्ष जयकृष्ण बोगटीले स्वागत गर्दै आफूहरू नगरपालिकामा निर्वाचित भएर आएपछि उपभोक्ता समितिलाई अभिमुखीकरण गर्न  थालिएको बताउँदै उपभोक्ता समितिहरूलाई पनि विधि विधानले भने अनुरुप नै काम गर्न सल्लाह दिनुभयो । 
अनुशिक्षण कार्यक्रमका सभापति ८ नं वडाका वडाअध्यक्ष विश्वराज श्रेष्ठले उपभोक्ता समितिले बिनियोजित बजेट भित्रै रहेर समयमै काम सम्पन्न गर्न चनाखो हुनुपर्नेमा जोड दिनुभयो । अनिशिक्षण कार्यक्रममा दुईवटा वडा भित्र क्रियाशील उपभोक्ता समितिका पदाधिकारी तथा दुबै वडाका निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार