वर्षाले बिगारेको सडक मर्मतमा जनप्रतिनिधि र टोल विकासका युवा जुट्दै 

शनिबार, साउन २७, २०८०

रामेछाप । वर्षाको कारण सडक बिग्रिए पछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन् ।  वर्षका कारण जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू बिग्रिएका छन् । ठाउँ ठाउँमा पहिरो गएर तथा अधिकांश ठाउँमा पानी परेर जमेका कारण हिलो भएर सडकहरू बिग्रिएका छन् । यसरी बिग्रिएका सडक मर्मत गर्न खर्च नभएपछि जनप्रतिनिधि र स्थानीयवासी श्रमदान गरेर सडक मर्मतमा जुटेका हुन् । 
जिल्लाको सबैभन्दा दुर्गम उमाकुण्ड गाउँपालिकाको–१ गुम्देलको धुपीको टोल विकास संस्थाका युवाहरूले ठाउँ ठाउँमा बिग्रिएको सडक श्रमदान गरेर मर्मत गरेका छन् । सदरमुकाम मन्थली र गाउँपालिकाको केन्द्रबाट सो वडाको गुम्देल जाने सडक वर्षाको कारण बिग्रिएपछि टोल विकास संस्थाका युवाले श्रमदान गरेर मर्मत गरेका वडाध्यक्ष ङावा तिण्डु शेर्पाले बताए । 

Gumdel -1 (1)1691804614.jpg
सो गाउँपालिकाका अन्य विभिन्न वडामा पनि जनप्रतिनिधि र टोल विकास संस्थाका युवाहरू जुटेर सडक मर्मतका काम गरिहरेका छन् । बन्द सडक खुलाउन जनप्रतिनिधि र टोल विकास संस्था लागिरहेका छन् । 
जिल्लाको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल वडाका अन्य जनप्रतिनिधिका साथ एक हप्तादेखि नियमित रूपमा सडक मर्मतको काममा खटी रहेका छन् । वर्षाले बिगारेको बाटोमा ढुङ्गा छाप्नको लागि ढुङ्गा ओसार्ने, सोलिङ गर्ने लगायतका काममा निरन्तर लागेको पौडेलले बताए । 
वडा कार्यालयमा बजेटको अभाव हुँदा श्रमदानमा जुट्नु परेको पौडेलले सुनाए । जनप्रतिनिधि आफैँ श्रमदानमा जुटेपछि स्थानीय नागरिक पनि भ्याएको बेला श्रमदान गर्न निस्किएका र यसले श्रम संस्कृति विकास गर्न सहयोग पुगेको पौडेलले बताए । ‘हामीसँग बजेट छैन, ट्याक्टर मागेर ढुङ्गा ल्याएर सडकमा छाप्ने काम गरिरहेका छौँ, वर्षामा पनि काठमाडौं र सदरमुकाम जाने सडकमा यातायात साधन नरोकिउन भन्ने हाम्रो लक्ष छ’, उनले भने ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार