सोमपालको सानदार ब्याटिङ 

शुक्रबार, असार २९, २०८०

काठमाडौं । अलराउन्डर सोमपाल कामीको सानदार ब्याटिङमा नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तानलाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।
सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२÷८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि।सी र सोमपाल कामीले ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।
एक समय ९.१ ओभरमा ३९–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि गुलशन झा र कुशल मल्लले २८ रनको साझेदारी गरेका थिए । कुशल मोहम्मद वासिम जुनियरको बलमा बोल्ड हुँदै १८ बलमा २ चौका र १ छक्का प्रहारका साथ पेभेलिएन फर्किए । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएका थिए ।
नेपालले पहिलो ओभरमै जुनियरलाई तीन चौका प्रहार गर्दै राम्रो सुरुवात गरेको थियो । तर पहिलो ओभरपछि नेपालको प्रदर्शन सम्झन लायक थिएन । तीव्र गतिका बलर शाहनबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए ।
दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर आसिफ शेख १२ रनमा क्याच आउट भए । जुनियरको पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट ४ रनमा समातिन पुगेका थिए ।
जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भएपछि नेपाल ७.४ ओभरमा ३७–५ को दयनीय अवस्थामा पुगेको थियो । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।
पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे । गत वर्ष खराब प्रदर्शनका साथ टोलीबाट बाहिरिएका पवनले पुन अर्को मौकाको फाइदा उठाउन सकेनन् ।
पाकिस्तानका शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार