प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती

बुधबार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनका दुई छोरीले  सीता दाहाललाई दागबत्ती दिएका छन् । ६९ वर्षकी सीताको आज बिहान निधन भएको हो । काठमाडौको नर्भिक अस्पतालमा सीताको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए । सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट पीडित थिइन् । उनलाई बुधवार बिहान हृदयाघात भएको थियो । बुधवार दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । अन्तिम संस्कारअघि सीता दाहालको शरीरमा राष्ट्रिय झण्डा ओढाइएको थियो ।
बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाले सलामी दिने निर्णय गरेको थियो । 
दाहसंस्कारका लागि आर्यघाट लैजानुअघि सीता दाहालको शवलाई पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिएको थियो । त्यहाँ आयोजित श्रद्धाञ्जलिसभामा प्रचण्डले पत्नीको शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।  माओवादी पार्टी कार्यालयमा सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न माओवादी कार्यकर्ता, विभिन्न दलका नेता तथा शुभेच्छुकहरू पुगेका थिए ।

देश र विदेशबाट शोकसन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई टेलिफोन गरेर सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निधनको खबरले आफू 'मर्माहत' भएको ट्वीटमार्फत् जनाएका छन् ।
प्रचण्ड र शोकसन्तप्त परिवारलाई समवेदना दिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अस्पताल पुगेका थिए । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नपशुपति आर्यघाट पुगेका थिए । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि प्यारिसडाँडा पुगेर सीता दाहालप्रति सम्मान प्रकट गरेका थिए ।

के भन्छन् चिकित्सक र नर्भिक अस्पताल
सीता दाहाललाई हृदयाघात भएपछि चिकित्सकहरूको टोली बालुवाटार पुगेको थियो । त्यहाँबाट उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
नर्भिक अस्पतालले प्रेस विज्ञप्ति प्रकाशित गरी सीता दाहालको मृत्युबारे जानकारी दिएको हो । 
नर्भिक अस्पतालले प्रचण्डका निजी चिकित्सक डा.युवराज शर्माका नाममा जारी गरेको वक्तव्यमा सीता दाहाल 'प्रोग्रेसिभ सुप्रान्यूक्लिअर पल्सी, पार्किन्सनिज', मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको उल्लेख छ । प्रोग्रेसिभ सुप्रान्यूक्लिअर पल्सी स्नायुप्रणालीसम्बन्धी दीर्घरोग हो ।
उपचार गर्न दाहाललाई भारत, सिङ्गापुर र अमेरिका पनि लगिएको थियो । डा. शर्माका अनुसार सीता दाहाललाई लामो समयदेखि पेटबाट सीधै खाना खुवाइँदै आएको थियो । उनी झन्डै दुई वर्षदेखि प्रतिक्रियाविहीन अवस्थामा रहेकी थिइन् ।  हृदयाघात भएपछि उनलाई बिहान ८ बजे अस्पतालको आकस्मिक उपचार कक्षमा पुर्‍याइएको तर आवश्यक उपचार गर्दा पनि उनलाई जीवित राख्न नसकिएको र ८ः३३ बजे उनलाई मृत घोषित गरिएको थियो । 
सीता दाहालको जीवन
विसं २०११ सालमा कास्कीको हेम्जामा जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा उनी पछिल्लो समय पार्टीको सल्लाहकारको भूमिकामा रहेकी थिइन् । प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा गरी चार सन्तान रहेकामा एक छोरा र एक छोरीको निधन भइसकेको छ।
उक्त विज्ञप्तिमा सीता दाहालले पार्टी कामका सिलसिलामा पञ्चायतकाल र माओवादी द्वन्द्वका बेला 'भूमिगत जीवनू बिताउँदै 'सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह' गरेको उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार