सोलुखुम्बुको लामाजुरा पासमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना

स्थानीयले प्रहरीलाई जानकारी दिएपछि प्रहरी घटनास्थल जाँदै 
मंगलबार, असार २६, २०८०

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ लामाजुरा पासमा दुर्घटना भएको खबर प्रहरीलाई दिएका छन् ।  लुक्लाबाट काठमाडौंका लागि उडेको यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका–२ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ ।
​नागरिक उड्ययन प्राधिकरण लुक्ला टावरले पनि हेलिकोप्टर लामाजुरा आसपासबाटै सम्पर्कविहीन भएको पुष्टि गरेपछि प्रहरी त्यसतर्फ हिँडिसकेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली हिँडिसकेको बाँस्तोलाले दिए । दुर्घटनास्थल भनिएको लामाजुरा पुग्न बेनीबाट अढाई घण्टा र सदरमुकाम सल्लेरीबाट ४ घण्टा लाग्छ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईका अनुसार यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका–२ लामाजुरासम्म नागरिक उड्ययन प्राधिकरणको लुक्ला कार्यालयसँग सम्पर्कमा थियो । लामाजुराबाट यता काठमाडौं टावरलाई हस्तान्तरण गरिसकेपछि हेलिकोप्टर बेपत्ता भएको हो। लामाजुरासम्म लुक्ला टावरले हेर्ने गर्छ।
त्यसयता हेलिकोप्टर काठमाडौं टावरसँगको सम्पर्कमा आउनुपर्ने थियो । उक्त हेलिकोप्टर सम्पर्कविहीन भएको पुष्टि त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाले  पनि गरेका छन्।
हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित एकजना नेपाली पाइलट सवार थिए। विदेशी नागरिक इटालीका भएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार