निजात्मक, मौलिक र साहित्यिक चिन्तकका रुपमा प्रदीप गिरी

आइतबार, भदौ ५, २०७९

काठमाडौँ । “राजनीतिज्ञ भइकन विशुद्ध चिन्तक र चिन्तनमा पनि निजत्व र मौलिकतायुक्त व्यक्तित्व प्रदीप गिरीको निधनबाट देशैभरि एक प्रकारको अभाव खड्किएको छ ।” मुलुकका हरेक क्षेत्र र समुदायका समस्यालाई गहिराइका साथ बुझ्ने र व्यक्त गर्न सक्ने क्षमताका धनी व्यक्तित्व दिवङ्गत नेता एवं चिन्तक गिरीलाई वरिष्ठ कवि तुलसी दिवसले लामै समयदेखि नजिकबाट चिनेका छन् । 
रासससँग कुरा गर्दै कवि दिवसले गिरीलाई देशको विकासमा स्पर्श भएर लाग्ने, त्यसभित्र पनि चिन्तन र मनन गरेर जनता, सर्वसाधारणको कल्याणलाई प्राथमिकता दिने तथा साहित्य र संस्कृतिप्रति दिलचस्पी राख्ने राजनीतिज्ञका रूपमा स्मरण गरे । भारतको वनारसमा रहँदा पनि त्यहाँका पत्रपत्रिकामा लेख रचना छपाएर आफ्नो पृथक पहिचान स्थापित गर्न गिरी समर्थ भएको संस्कृतिविद् दिवसले स्मरण गरे । 
नागरिकबाटै नेपाली चिन्तनको विश्वविद्यालयको उपमा पाउनुभएका समाजवादी चिन्तक एवं दार्शनिक नेता प्रदीप गिरी दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने व्यक्ति थिए । महामानव विपी कोइरालासँग दोहोरो संवाद गर्न सक्ने नेताका रूपमा साहित्यकारहरुले उहाँलाई चिन्ने गरेका छन् । कोइरालाका पुस्तकहरुको सूक्ष्म अध्ययन गरी समयसन्दर्भलाई जोडेर मीठो टिप्पणी गर्न सक्ने नेता गिरीले संसद्का बैठकहरुमा सम्बोधन गर्दै विपी कोइरालासँग सङ्गत गर्ने कमैमध्ये आफू पनि रहेको उल्लेख गरेका थिए ।  
कोइरालाको समाजवादी चिन्तनलाई अहिलेका राजनीतिक दलले भुल्दै गएको जिकिर गर्ने उनी विकास भन्ने शब्दलाई भौतिक निर्माणसँग नजोडी जनजीविकालाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरामा दृढ थिए । महाभारतका पात्र र प्रवृत्तिलाई पछिल्लो पुस्ताले बुझ्ने गरी र समसामयिक राजनीतिक एवं सामाजिक परिवेशसँगको तुलनालाई गहिरो गरी विश्लेषण गर्न सक्ने चिन्तकका रूपमा गिरीलाई लिइन्छ । 
गिरीको निधनपछि श्रद्धाञ्जलि व्यक्त गर्ने क्रममा विभिन्न स्रष्टाहरुले उहाँको अभावमा गहिरो दुःख व्यक्त गरेका छन् । वरिष्ठ साहित्यकार श्यामल अधिकारीले गिरीलाई नेपाली समाजमा राजनीति र साहित्यमाथि इमानदार बौद्धिक विमर्श गर्र्ने र क्षुद्र सत्ता राजनीतिमाथि प्रहार गरिरहने एक नक्षत्र अस्ताएको अनुभव व्यक्त गरेका छन् । 
वास्तवमा पद र सत्ता प्राप्तिमा पटकै ध्यान नदिई जनसेवाको हितार्थ चिन्तन प्रवाहमा प्राथमिकता दिने नेता गिरिले समाज र तल्लो वर्गका नागरिकलाई केन्द्रविन्दुमा राखेर धारणा दिने गर्थे । 
साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण वाग्ले गिरीलाई सीधा भन्न सक्ने समाजवादी एवं गान्धीवादी साधकको रूपमा सम्झन्छन् । समाजवादी चिन्तक गिरीबारे उनी लेख्छन्, “लेखपढ÷बातचितमा सँधै तल्लिन, देश÷देशावरबारे सधैँ सुसूचित, सीधा भन्न सक्ने समाजवादी तथा गान्धीवादी र ताजगीपूर्ण साधक स्वरको सधैँ अभाव हुने भयो ।” 
साहित्यकार एवं चलचित्र निर्देशक प्रकाश सायमी उमेरमा फरक भए पनि आफूले मित्रवत्रूपमा चिनेको र विसं २०४६ सालको आन्दोलनमा साहित्यिक र सामाजिक आन्दोलनमा गिरीसँगै सरिक भएको स्मरण गर्छन् । उक्त आन्दोलनमा वामपन्थी र प्रजातान्त्रिक खेमा अलगअलग भए पनि एक भएर आन्दोलन गर्नुपर्छ भन्नेमा उनको विशेष जोड रहेको सायमीले सुनाए । 
“नेपालमा सूर्यप्रसाद उपाध्ययपछि किताबलाई खाएर, चपाएर स्वाद लिनसक्ने मान्छेको रूपमा हाँ हुनुहुन्थ्यो”, सायमीले सम्झिए,  “उहाँ बौद्धिकरूपमा निक्कै अगाडि हुनुभयो तर राजनीतिक नेतृत्वमा फितलो देखिनुभयो ।”
राजनीतिमा बौद्धिकभन्दा हावादारी व्यक्तिको पछाडि भिड हुन्छ, तर्कसङ्गत कुरा गर्ने कार्यकर्ता होइन रहेछ भन्ने उनको जीवनीले देखाउने सायमीको व्याख्या छ । उनले नेता गिरीको योगदान साहित्यमा भन्दा विचार, चिन्तनप्रधान र राजनीतिपरक किताबहरुमा रहेको बताउँदै उनलाई आक्रामक नेताका रूपमा चिन्न सकिने उल्लेख गरे । 
गिरीका केही लेखहरु राजनीतिक रङबाट फरक रूपमा हेर्न सकिने र कताकता ती लेखमा साहित्य घुसेको पाइने विश्लेषण गर्दै सायमीले थपे, “तारिणीप्रसाद कोइरालाले राजनीतिसँगै साहित्य पनि लेख्नुभयो भने गिरीमा त्यो चाहिँ अभाव देखियो ।”
विसं २००४ साल असोज २४ गते सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए । उनमा समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव थियो । उनी सरल जीवनशैली गान्धीवादी नेता थिए । 
राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता उनी ग्रामीण किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्थे । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिएका गिरी बिपीसँग भारतको बनारसमा बस्दा भएको आन्दोलनदेखिनै राजनीतिक सङ्गत थियो । उनले समाजवादी चिन्तन र जीवनशैलीप्रति कुनै सम्झौता गरेनन् । उनका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । 
नेता गिरी संसदीय राजनीतिमा २०५१ सालपछि सक्रिय भएका हुन् । विसं २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए । विसं २०५६ मा पराजित भए भने विसं २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट सहभागी भए । सबै जातजाति, भाषाभाषी धर्म संस्कृतिलाई समानरूपमै महत्व र स्थान दिनुपर्छ भन्ने धारणा राख्थे । –रासस 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार