अनुदानका लागि सुरु गरिएका फार्म अलपत्र 

आइतबार, साउन १५, २०७९

पर्वत । जिल्लामा सरकारी अनुदान लिनका लागि खोलिएका कृषि तथा पशु फार्म धमाधन बन्द हुन थालेका छन् । केही वर्ष अघि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट रु एक करोड पचास लाख अनुदान पाएको महाशिला गाउँपालिकाको नमूना बाख्रा फार्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । 
महाशिला–१ होस्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको उक्त फार्म एक वर्षपछि अलपत्र परेको हो । विसं २०७४ मा आयोजनाबाट अनुदान उपलब्ध गराइएको फार्ममा अहिले झार र सिस्नोले भरिएको  र भवन पनि खण्डहर बनेको छ । स्थानीयवासीका अनुसार फार्मका भवन बाहेक केही छैन । 
दुईसय रोपनी क्षेत्रफलमा बाख्रापालनका लागि बनेका छवटा खोरमा अहिले बाख्रा छैनन् । पहुँचको भरमा ल्याइएको अनुदान दुरुपयोग भएको स्थानीयवासी भीमप्रसाद काफ्लेले बताए । दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिमा करोडौँ रुपियाँका फार्म अलपत्र पारिएको उनको गुनासो थियो ।
स्थानीयवासी काफ्लेका अनुसार बाख्रापालनका लागि भनेर संरचना बनाइए पनि बाख्रा देख्न पाइएन । अनुदान ल्याउन मात्रै बाख्रा देखाइएको तर हाल बाख्रा नै नरहेको स्थानीयवासी बताउँछन् । केही समय करिब ५० वटा बाख्रा राखिएको भए पनि अहिले ती बाख्रा बेचेर भवन मात्रै रहेको अर्का स्थानीयवासी कला भट्टराईले बताए ।
स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदामा सुरु गरिएको सो परियोजना अलपत्र परेपनि कुनै निकायले अनुगमन नगरेको स्थानीयवासीको भनाइ थियो । होस्राङ्दी, उराम, भोक्सिङका किसानले साझेदारीमा सञ्चालन गरेको उक्त फार्म आर्थिक सङ्कटका कारण बन्द भएको महाशिला गाउँपालिकाका अध्यक्ष तथा फार्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले जानकारी दिए । 
अनुदानसहित रु तीन करोडको लागत अनुमान गरिएकामा परियोजनाबाट प्राप्त अनुदानबाहेक सम्बद्ध व्यक्तिले लगानी नगरेपछि सरकारी अनुदान सदुपयोग नभएको उनले बताए । 
अध्यक्ष भुसालले भने, “एक करोड रुपियाँ पाउनुपर्नेमा रु ७० लाखले मात्रै काम गरियो, त्यसैले समस्या भयो ।” फर्ममा ५०० माउ बाख्रा पाल्नेगरी बनाइएको र घाँस सङ्कलन गर्नेदेखि पानी खुवाउनेसम्मका संरचना बनिसकेका थिए । अनुदान उपलब्ध गराउने समयमा भने फार्ममा बाख्रा रहेको भेटनरी अस्पताल एवं पशु विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फर्ममा बाख्रा रहेको तर अहिले भने अनुगमन नभएको स्वीकार्नुभयो ।“अनुदान दिने बेला अनुगमन हुन्छ” उनले भने, “पछि अनुगमनको कुनै कार्यक्रम नभएकाले गएका थिएनौँ ।” 
यस्तै जिल्लाको कुश्मा नगरपालिका– २ को अर्मादीमा सञ्चालनमा आएको कुखुराको मासु प्रशोधन केन्द्र अहिले बिक्री भइसकेको छ । किसान लालबहादुर हरिजनले सञ्चालन गरेको नमूना व्यावसायिक कृषि फार्म अम्बोटमासमेत अनुदान आएपछि बिक्री गरेका छन् । 
योसँगै ठूला अनुदान पाएका जिल्लाका अन्य ठाउँका फार्म पनि बन्द भएका छन् भने केही अनुदान पाएपछि बिक्री भएका छन् । उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमले जिल्लाको बेरोजगारी कम गराउनाको सट्टा राज्यले करोडौँ लगानी गरेका फार्म अहिले खण्डहरमा परिणत हुँदैआएको किसानको गुनासो छ ।–रासस 
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार