राष्ट्रिय सभा निर्वाचनः कांग्रेसले टुंग्यायो १० उम्मेदवार

सोमबार, पुस २३, २०८०

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवार छानेको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारमध्ये संस्थापन पक्षका छ जना छन् भने चारजना संस्थापनइतर पक्षका छन् । 
कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । 

Neta-1704677866.jpg
त्यस्तै, मधेश प्रदेशबाट अन्यतर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् ।
बागमती प्रदेशमा अन्यतर्फ जीतजङ्ग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । 
त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्पसंख्यक तथा अपाङ्गता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् । 
लुम्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटा, कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपाङ्गता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । 
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको जानकारी दिएका छन् ।

गगन थापाको लिखित असहमति

१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ ।

४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् ।

मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाएका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार