राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

आइतबार, पुस २२, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ । 
शनिबार विहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्दै १९ सिटको भागबण्डा गरेका थिए । अनौपचारिकरुपमा अहिलेको भएको भागबण्डामा १० सिटमा कांग्रेस, ६ सिटमा माओवादी केन्द्र, २ सिटमा नेकपा एकीकृत समाजवादी र १ सिटमा जसपाले उम्मेदवारी दिने तय भएको छ । तर एकीकृत समाजवादीका नेताहरू भने असन्तुष्ट देखिएका छन् । 
शनिबार साँझ बैठक नसकिदै एकीकृत समाजवादीका नेताहरू बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विहान फेरि बस्ने गरी गठबन्धनको बैठक बोलाएका छन् । 
शनिबार साँझ बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सिट बाँडफाँटका विषयमा लगभग सहमति भएको बताए । ‘अहिलेको छलफलले लगभग सहमतिनजिक पुगेका छौँ । आइतबार विहान सबै कुरा मिल्छ, त्यसपछि सोमबार हामी उम्मेदवारको मनोनयन गर्छोँ,’ लेखकको दाबी थियो । उनले अब अन्य दलहरूसँग गठबन्धनको सम्भावना भने टरेको बताएका थिए । 
तर एकीकृत समाजवादी नेता राजेन्द्रप्रसाद पाण्डेले भने शनिबारको छलफलमा कुनै सहमति नभएको बताए । ‘अहिले केही कुरा मिलेको छैन । आइतबार फेरि छलफल हुन्छ,’ उनको भनाइ थियो । 
एकीकृत समाजवादीले ४ सिटमा दाबी गरेको थियो । तर गठबन्धनमा दुई सिट मात्रै पाउने भएपछि नेताहरूले असन्तुष्टि जनाएका छन् । 
गठबन्धनमा १३ सिट दाबी गरेको कांग्रेसले सबैलाई मिलाएर लैजान तयार रहेको प्रमुख सचेतक लेखकले दाबी गरे । ‘हामीले १३ सिटमा दाबी गरेको हो । देशभरिको हाम्रो मतदाताको संख्या र केन्द्रमा पनि कांग्रेसको उपस्थितिले हामीले त्यो दाबी गरेका हौँ । तर फेरि सबैलाई मिलाएर जाने कुरामा तयार छौँ,’ उनले भने । 
सत्ता गठबन्धनकै दलहरू लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि एक–एक सिटमा दाबी गरेका थिए । तर प्रमुख दलहरूले मतभारका आधारमा गठबन्धन हुने भन्दै चार दलका बीचमा मात्रै भागबण्डा गर्ने तयारी गरेका छन् । 
सिट बाँडफाँट बारे टुंगो लगाउन अहिले विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ । आजको बैठकले सिटको टुंगो लगाउने र सोमबार विहानसम्म उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गर्ने दलहरूको तयारी छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार