सर्लाहीको बरहथवा घटना छानबिन गर्न समिति गठन

शनिबार, पुस २१, २०८०

काठमाडौं । सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको घटनाका बारेमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन गरिएको हो । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी समिति सदस्य छन् ।  सर्लाहीको बरहथवा–५ मा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनमा शुक्रबार बरहथवा–६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

घटनापछि उक्त क्षेत्रमा स्थानीय प्रशासनले कफ्यु आदेश जारी गरेको थियो । 
उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको मन्त्रालयले जनाएको छ । 

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, भोलिसम्म निषेधाज्ञा 

जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।  स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ । नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ ।  सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार  भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो ।   प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोलि लागेर उनको मृत्यु भएको हो  मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेका स्थानीयले बताएका छन् । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार