मुगुमा वृद्धभत्ता लिनै सकस 

शनिबार, पुस २१, २०८०

मुगु । पर्याप्त बैंक तथा वित्तीय संस्थाको पहुँच नपुग्दा मुगुका दुर्गम बस्तीबाट सामाजिक सुरक्षा भत्ता थाप्नेहरुले सदरमुकाम वा स्थानीय तहको केन्द्र रहेका ठाउँ नपुगी हुँदैन । मुगुम कार्मारोङ गाउँपालिका लगायतका स्थानीय तहका ज्येष्ठ नागरिकलाई सदरमुकाम पुगेर वृद्धभत्ता लिन सकस परेको छ । 
मुगुम कार्मारोङ–१ चितै गाउँका ७६ वर्षीय मुन्जुक लामालाई भत्ता लिन गाउँबाट हिँडेरै एक दिन लाग्छ । त्यसैल उनी चितै गाउँबाट गाउँपालिका केन्द्र पुलुमा सामाजिक सुरक्षा भत्ता लिन हरेक तीन वा चार महिनामा एक पटक सास्ती खेपेर पुग्छन् । पुलुको राष्ट्रिय वाणिज्य बैंकको शाखामा आइपुग्न निकै गाह्रो पर्ने गरेको उनले सुनाए । 
बैंंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएपछि बजार क्षेत्रका वृद्धवृद्धालाई भने सहज भएको छ । तर, ग्रामीण क्षेत्रका बासिन्दालाई भने गाह्रो परेको छ । 
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका बस्तीमा सडकको पहुँच छैन । एक बस्तीबाट अर्कोमा पुग्न ४–५ घण्टा हिँड्नु पर्छ । गाउँबस्तीमा नजिकमा र्बैंक पनि छैनन्  । चितै गाउँकी ७२ वर्षीया छिरिङ म्याङजोम लामाको व्यथा पनि कम छैन । उनले भत्ता लिनकै लागि दुई दिनको अप्ठेरो बाटो हिँड्नुपरेको बताइन । 
विगतमा घरमै भत्ता लिन पाउँदाको अनुभव सुनाउँदै कार्मारोङ–७ मह गाउँका ७८ वर्र्षीय  छेवाङ तेन्जिङ लामाले गुनासो गरे, ‘बैंकहरु आफूलाई पायक पर्ने ठाउँमा शाखा राख्छन्, टाढाबाट आइपुग्न हामीलाई गाह्रो हुन्छ । बुढेसकालमा उकालो चढ्न सकिँदैन ।’ मह गाउँबाट पुलुसम्म पुग्न ४ घण्टाभन्दा बढी हिड्नुपर्छ । ‘कति दिन यसरी हिँड्नु ? पहिले घरमै आएर भत्ता दिँदा सजिलो हुने गरेको थियो,’ उनले भने, ‘अहिले गाउँमा बैंक नआउँदा कठिन भएको छ ।’ 
मुगुम कार्मारोङ गाउँपालिकाका वृद्धवृद्धा मात्रै नभइ जिल्लाका चार वटै स्थानीय तहका बासिन्दालाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको उनीहरुको गुनासो छ । 
विगतका वर्षहरुमा घुम्ती शिविरमार्फत पनि सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको थियो । सरकारले बैंकमार्फत नै भत्ता बाँड्न थालेपछि दुर्गम ठाउँका बासिन्दालाई भत्ता लिनै समस्या हुने गरेको अनुभव उनीहरुको छ । 
कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले भने आफूहरु नियमभित्र रहेर काम गर्न बाध्य भएको बताए । बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामै भत्ता दिने सुनिश्चित भएपछि भत्ताको दुरुपयोग नहुने र पारदर्शी हुने उनको धारणा छ । तर, कतिपय गाउँमा अझै सडक सञ्जाल नजोडिएकाले दुर्गमका बासिन्दाले सास्ती पाइरहेको आफूले देखेको उनले बताए । 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार