घरघरै खानेपानीका धारा पुगेपछि मुर्माबासीलाई सुबिस्ता

शनिबार, पुस २१, २०८०

मुगु । पर्यटकीय केन्द्र राराको काखमा रहेको मुर्मा गाउँका बासिन्दा लामो समयदेखि नाउला खोलाको पानी खाँदै आएका थिए । तर अब भने घरघरै पुगेको पानी प्रयोग गर्न पाउँदा उनीहरु खुसी भएका छन् । शुद्घ, सुरक्षित र सफा खानेपानी घरैमा आउन थालेपछि उनीहरुलाई सुबिस्ता भएको छ । धाराबाट आउने पानी खान प्रयोग गर्नुका साथै सरसफाई र तरकारी खेतीमा सिँचाई गर्न पनि सहज हुने भएको छ ।
यूएसयआईडी कर्णाली जल परियोजनाको ५१ लाख २१ हजार ६ सय ५४ रुपैयाँ, छायाँनाथ रारा नगरपालिकाको ३२ लाख २७ हजार २२ रुपैयाँ र समुदायको १३ लाख ६२ हजार गरी जम्मा ८६ लाख १० हजार ८ सयभन्दा बढी रकमबाट खानेपानी व्यवस्था गरिएको हो । ५ हजार ७ सय मिटर टाढाबाट ल्याइएको पानी ७४ घरमा पुर्याइएको छ । 


‘पहिले पानी भर्न डोप्कासम्म पुग्नुपर्थ्यो’ मुमागाउँकी ६५ वर्षीया चौती रोकायाले भनिन्, ‘रातभर पालो कुरेर बिताउनु पर्थ्यो तर अब घरैमा पानी आउँदा अर्को जुनी पाएजस्तो लागेको छ ।’ पहिले हिलो पानी, हिउँदको समयमा हिउँ पग्लाएर पानी खाने गरेका गाउँलेले अब घरैमा सहज रुपमा पानी उपलब्ध भएपछि सजिलो अनुभव गरिरहेको स्थानीय बालकृष्ण रोकायाले बताए । मुर्मा गाउँको खानेपानी समस्यालाई मध्यनजर गर्दै छोटो समयमा यो आयोजना सम्पन्न गरिएको हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र मुगुका कार्यकारी निर्देशक मीन रावलले बताए । मुर्मा खानेपानी आयोजना प्राविधिक अध्ययनपछि करिब ६ महिनाको समयमा आयोजना निर्माण गर्न सफल भएको उनले बताए । सबैका सहयोगले गर्दा आज घरघरमा खानेपानीका धारा निर्माण गर्न सफल भएको र यो आयोजना नमुना बनेको कर्णाली जल परियोजनाका परियोजना प्रमुख सुनीलकुमार दासले बताए ।


कर्णाली जल परियोजनासँग सहकार्य गरेर छायाँनाथ रारा नगरपालिकाको केही आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगुको सहजीकरणमा मुर्मा गाउँमा घरघर धारा निर्माण भएको छ ।
खानेपानी योजना दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि यहाँका समुदायका जुट्ने भएका छन् । मर्मत कोषलगायत दिगोपनाका लागि सबैजना गाउँले मिलेर लाग्ने तथा आफूहरुले पनि सक्दो सहयोग गर्ने छायाँनाथ रारा नगरपालिकाकी कार्यबाहक प्रमुख ऐश्वर्य मल्लले बताइन् ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार