दुग्ध उत्पादकले उचित मूल्य नपाएको व्यवसायीको गुनासो 

शनिबार, पुस २१, २०८०

विराटनगर । दूध उत्पादक किसानहरुले उत्पादनको उचित मूल्य नपाएको बताएका छन् । सरोकारवालाहरुले बजार सुनिश्चित गर्दै उचित मूल्य पाउने व्यवस्थाको पहलका गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र कृषि उद्यम केन्द्रको आयोजनामा शनिबार भएको दूग्ध उत्पादक व्यवसायीबीच कृषि उपजको मूल्य शृंखलाबारे कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
त्यस अवसरमा दुग्ध उत्पादक व्यवसायीहरुबीच कृािष् उपजका मूल्य शृंखलाका पात्रहरुबीच व्यावसायिक सम्बन्ध स्थापना गर्नेबारे छलफल भएको थियो ।
तुलागंगा कृषि फर्मका सञ्चालक विष्णुप्रसाद दुलालले दुग्ध उत्पादक कृषकहरुले दूधको उचित मूल्य पाउन नसकेको बताए ।
दूधको बजार सुनिश्चित गर्दै उपयुक्त मूल्य पाउने अवस्था सिर्जना गर्न उनले आग्रह गरे । यसैगरी, ग्रीन यार्ड कृषि फर्मका सञ्चालक विज्ञान बस्नेतले डेरी उद्योगले बजारीकरणको रणनीति बनाए अहिले देखिएको समस्या समाधान हुनसक्ने बताएका थिए । कोशी गौमाता कृषि फर्मका सञ्चालक मदन ढकाल, ढुङ्गेल कृषि फर्मका सञ्चालक सरोज ढुंगेल लगायतले उत्पादकको तर्फबाट दूध बिक्रीको सुनिश्चितता हुनुपर्ने व्यवस्थाका लागि सरकारले आयातीत पाउडर निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । साम्य इन्टिग्रेटेड कृषि फर्मका सञ्चालक संजोग शिवाकोटीले कृषि उपजको बजारीकरमा कृषकको क्षमता विकास गर्नुपर्ने उल्लेख गरे ।
यसैगरी, सूर्योदय मिल्क एण्ड बेभरेजका सञ्चालक गुरुप्रसाद अधिकारीले अहिले दुग्धजन्य पदार्थको बिक्रीमा कमी आएको भन्दै उत्पादकहरुका लागि प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन सरोकारवालले ध्यान दिनुपर्ने बताए ।
डेरी उद्योग संकटबाट गुज्रिरहेको अवस्थामा सरकारले व्यवसायीहरूको ऋणको ब्याजमा सहुलियत दिनुपर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा दुग्ध उत्पादक र डेरी सञ्चालकहरू, व्यवसायीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार