राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभामा सिट बाँडफाँट गठबन्धन भित्र मात्रै 

शनिबार, पुस २१, २०८०

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई सँगै लैजाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा काँग्रेस सभापति शेरबहादुर देउवाको सकारात्मक संकेत भएपछि सत्ता गठबन्धनकै दलहरुको असमतिका कारण एमाले बिनै सिट बाँडफाँट हुने भएको छ । एमालेलाई अलग गरी सत्ता गठबन्धन दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनमा रहेका दलहरूबीचमै सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । 
बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी चार दलका नेताहरूबीच भएको छलफलले गठबन्धनभित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रि सभाको चुनाव लड्ने बताए । राष्ट्रियसभाको सदस्य निर्वाचनको विषयलाई लिएर आज साँझ पुनः बैठक बस्नेछ । गठबन्धनमा सहभागी सबै दलहरूको बैठकबाट राष्ट्रियसभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ ।
“सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसावले दाबी गर्नुभएको छ, पार्टीहरूले । साँझसम्ममा टुंगोमा पुग्छौँ,” लेखकले भने । दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच छलफल हुनेछ । ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका बाँकी दलहरुसँग पनि छलफल हुने उनले जानकारी दिए । 
प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गर्दै सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट हुने बताए ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार