राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा ललितपुर महानगर–२७ सुनाकोठी वखाटमा योग अभ्यास (भिडियो)

बिहीबार, पुस १९, २०८०

सुनाकोठी (ललितपुर) । पतञ्जलि योग समिति नेपाल अन्तर्गतको ललितपुर जिल्ला महानगर योग समितिले राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा सुनाकोठी वखाटस्थित राधाकृष्ण योग साधना केन्द्रमा विहीबार विहान योग अभ्यास गराएको छ । राधाकृष्ण, बासुकी, पशुपति, बैष्णोदेवि, बिन्दबासिनी, समावेशी र दक्षिणकाली योग साधना केन्द्रका संयोजक, योग शिक्षक र साधक साधिकालाई पतञ्जलि योग समिति नेपाल ललितपुर जिल्ला महानगर योग समितिका अध्यक्ष माधव प्र. अधिकारी, सरस्वती भण्डारी कार्कीसहितका गुरुहरूले उपस्थित योग साधक साधिकालाई योगअभ्यास गराएका हुन् । त्यस क्रममा योग अभ्यास,  सूर्य नमस्कार, प्राणायाम तथा ध्यान गराइएको थियो ।
नेपालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिन्छ । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

WhatsApp-Image-2024-01-04-at-07.33.28-1704367946.jpeg
यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
“योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”, योग  अभ्यासमा लागेका जानकारहरूले भन्ने गरेका छन् । 

WhatsApp-Image-2024-01-04-at-07.33.05-1704367965.jpeg
आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

WhatsApp-Image-2024-01-04-at-07.32.33-1704367970.jpeg
मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ । मुलुक संघीयतामा गएपछि गठन भएको स्थानीय तहहरूले आफ्ना नागरिकलाई स्वास्थ्य राख्न योग अभ्यासका लागि बजेट विनियोजन गर्न थालेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार