महिला गणितज्ञको उन्नयनका लागि ओनिम्सले विशेष अभियान थाल्ने

मंगलबार, पुस १७, २०८०

कीर्तिपुर ।  गणितज्ञ महिलाहरुको छाता सँस्था ‘गणित विज्ञानमा नेपाली महिला’ (ओनिम्स) ले विद्यालयदेखि विश्वविद्यालय सम्मका विभिन्न तहमा गणित पढाइ रहेका महिलालाई अध्ययन, अनुसन्धान र प्राज्ञिक खोजतर्फ प्रेरित गर्न विशेष अभियान थाल्ने भएको छ ।  संस्थाको शनिबार सम्पन्न छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले यससम्बन्धी कार्ययोजना पारित गरेको थियो । कार्ययोजना अनुसार सँस्थाले  गणित विषय र गणित शिक्षाको आवश्यक प्रचार प्रसार गरी महिला विद्यार्थीलाई गणितको अध्ययन र अनुसन्धानतर्फ आकर्षित गर्न ‘स्टुडेन्ट स्टुडेन्ट स्टिम क्लब’ स्थापना गरी ज्ञानवर्धक र प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ । यसै गरी सार्वजनिक र निजी विद्यालयसँग गणितका पाठ्यक्रमको उपयोगिता, प्रश्नपत्र तथा गणितका अन्य शैक्षिक सामग्री निर्माण र यसको प्रयोग सम्बन्धी छलफल कार्यक्रमहरु सञ्चालन गर्ने योजना पनि संस्थाको  छ । 
यसका साथै अन्तर्राष्ट्रिय स्तरका गणित शोध र अनुसन्धानलाई तिव्रता दिँदै जाने र स्थानीय सरकारहरु सँग समेत सहकार्य गरी गणितीय अनुसन्धान अघि बढाउने योजना समेत अधिवेशनले पारित गरेको छ । साथै गणितमा महिलाको सशक्त सहभागिताका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका एक एक वटा गणित सम्मेलन गर्ने, गणित अध्ययनमा महिला छात्रवृत्तिका लागि पहल गर्ने योजना पनि अधिवेशनले पारित गरेको छ । 
महिलाहरु पुरुषको तुलनामा पछि रहेका क्षेत्र मध्ये एक मानिने गणितको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खोज अनुसन्धानका अवसर उपलब्ध गराउन यो कार्ययोजना निर्माण गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले दिए । 
अधिवेशनले आगामी तीन वर्षका लागि सहप्राध्यापक थापाको अध्यक्षतामा ११ सदस्सीय ओनिम्स कार्यसमिति समेत निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित उक्त कार्यसमितिको उपाध्यक्षमा डा. कविता लुँईटेल सचिवमा सहप्राध्यापक तारा पौडेल सहसचिवमा डा गौरी भुजु र कोषाध्यक्षमा उपप्राध्यापक सरला लुँईटेल छन् । यसै गरी सदस्यहरूमा रचना जोशी, राधादेवी श्रेष्ठ, डा. शर्मिला श्रेष्ठ र डा. रुमा मानन्धर सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको विधान अनुसार बाँकी दुई सदस्यहरू नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले गर्ने जानकारी पनि अध्यक्ष थापाले दिए । 
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पुर्व राजिष्ट्रार प्राध्यापक डा भद्रमान तुलाधरले ओनिम्स बुलेटिन पहिलो अंकको विमोचन गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार