भूकम्प प्रतिरोधी घर बनाउन डकर्मीलाई ललितपुर महानगरको तालिम 

तालिमका सहभागी भन्छन् ‘सिक्नुपर्ने धेरै रहेछ , सिकेको कुरा व्यवहारमा उतार्छौ’
आइतबार, पुस १५, २०८०

ललितपुर ः गीता कुमाल घर निर्माण पेशामा संंलग्न छिन् । उनीको दर्जा ज्यामी हो । तर, काम डकर्मीले जतिकै वा त्यो भन्दा धेरै गर्छिन् । ज्यामी बनेर काम गरेको १० वर्ष भयो । उनी श्रीमानसँगै काम गर्छिन् । गीताका श्रीमान् भने डकर्मी हुन् । डकर्मीको जतिकै सीप भएपनि नयाँ कुरा सिक्नुपर्छ भन्ने कुरा गीतालाई मनमा लागिरहेको थियो । मनमा यस्तै कुरा खेलिरहँदा ललितपुर महानगर वडा नं.१७ ले फारम भर्न बोलायो । त्यो फारम भूकम्प प्रतिरोध घर निर्माण गर्न लिनुपर्ने तालिमका लागि भर्नु पर्ने कागजात थियो । गीता मात्रै होइन, ललितपुर महानगरले आइतबारदेखि सुरु गरेको भूकम्प प्रतिरोधी भवन बनाउन निर्माणकर्मीहरुका लागि आयोजना गरेको तालिममा २३ जना सहभागी छन् । ती मध्ये तीन जना महिला छन् । यो तालिम सात दिनसम्म संचालन हुन्छ । यो तालिम दोस्रो चरणको तालिम हो । पहिलो चरणको तालिम मंसिर महिनामा सम्पन्न भइसकेको छ । 
कान्छी महर्जन ललितपुर महानगरको वडा नंं.२१ मा घर बनाउने काम गर्छिन् । उनले पनि डकर्मीलाई बलियो घर बनाउने तालिम महानगरले दिदैंछ भन्ने कुरा वडाबाट थाहा पाइन् । फारम भरेर तालिम लिन आएकी उनले भनिन् ‘ काम त हामीले गरेको हो, तर धेरै कुरा विचार गर्नुपर्नेछ रहेछ ।’ सिकेको कुरा व्यवहारमा उतार्ने उनले बताइन् । 

WhatsApp-Image-2023-12-31-at-18.59.41-(1)-1704029502.jpeg
वडा नं.१८का वडा अध्यक्ष दोमदर खड्काले बलबहादुर श्रेष्ठलाई तालिमको बारेमा बताए । तीन चारवर्षदेखि डकर्मी बनेर घर निर्माण गरिरहेका उनलाई लाग्यो, ‘ नयाँ कुरा सिक्न पाइन्छ, त्यहाँ त जान्छु ।’ यस अघि उनले तालिमको बारेमा सुनेकी सम्म पनि थिइनन् । बलबहादुर वडा नं.१८मा काम गर्छन् । 
वडा नंं. १८ मा कार्यरत विकास महर्जनले डकर्मी काम गरेको १४ वर्ष भयो । यसअघि यस्तो तालिम नलिएका उनले सिकेको कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । २०७२ सालको भूकम्प देखेका उनले भने, ‘यो तालिमले एक दुईजनाको घर मात्रै होइन, देश नै बचाउँछ भुइँचालोबाट, देशभर दिनुपर्छ । 
वडा नं.४ मा घर बनाउने काम गर्ने विक्रम रुचालले पनि वडाबाट नै तालिमको बारेमा जानकारी पाएका रहेछन् । १२ वर्षदेखि डकर्मी काममा लागेका उनले तालिम लिएको यो पहिलो पटक हो । सिकेको कुरालाई व्यवहारमा ल्याउने उनले बताए । 
सम्पदाविज्ञ तथा महानगर प्रमुखका सम्पदा सल्लाहकार डा.रोहित रञ्तिकारले यो तालिम निकै उपयोगी भएको बताए । घर निर्माणकर्तालाई भूकम्प प्रतिरोधी संरचनाका बारेमा बुझाउन निर्माणकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै तालिमबाट सक्दो लाभान्वित हुन सुझाव दिए ।

WhatsApp-Image-2023-12-31-at-18.59.40-1704029525.jpeg
शहरी योजना व्यवस्थापन समितिका संयोजक तथा वडा नंं.१३ का वडा अध्यक्ष गणेश केसीले तालिम महत्वपूर्ण भएको बताए । तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न सके भूकम्प बाट हुने क्षति न्यून गर्न सकिने बताए । उनले दत्तचित भएर तालिममा सहभागी हुन प्रशिक्षार्थीहरुलाई अनुरोध गरे । 
ललितपुर महानगर शहरी विकास योजना महाशाखाका प्रमुख हरिशचन्द्र लामिछानेले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नियम लागू गर्ने ललितपुर महानगर पहिलो पालिका भएको बताए । नागरिकसम्म पुग्ने जनशक्ति निर्माणकर्मी भएको बताउँदै सिकेको सीप व्यवहारमा उर्तान अनुरोध गरे । 
महानगरकी इन्जिनियर वर्षा श्रेष्ठले नक्सापास, भवन निर्माणको मापदण्ड लगायत विषयमा चर्चा गरेकी थिइन् । 
तालिम सहजिकरण गर्ने संस्था ह्याबिटाट्स क्रिएसन्स प्रा.लिका आर्किटेक इन्जिनियरकी सविना तण्डुकारले तालिम सिक्ने सिकाउने थलो भएको बताए । अनुभवबाट खारिएका निर्माणकर्मीबाट धेरै सिक्ने सकिने उनको भनाई थियो । तालिममा प्राविधिक ज्ञान दिइने बताउँदै अनुभवबाट सिकेका कुरा आदानप्रदान गर्न प्रशिक्षार्थीलाई सुझाव दिइन् । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार