अन्तर्वार्ता

प्रचण्डजीलाई नेपाली कांग्रेसले अविश्वास गरेकोे छैन : मीन विश्वकर्मा (भिडियो)

सोमबार, पुस ९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका कारण वर्तमान सत्ता सहकार्यमा कुनै असर नपर्ने विश्वास व्यक्त गरेका छन् ।  बामपन्थी दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सम्भावनाबारे चर्चा गर्दै नेपाली कांग्रेस प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकाप्रति आफ्नो पार्टीको विश्वास यथावत रहेको बताए । ‘प्रचण्डजीले अविश्वसनीय कार्य गर्नुहोला भनेर नेपाली कांग्रेसले सोचेको पनि छैन’, भन्दै नेता विश्वकर्माले भने, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा ठोस निर्णय हुनै बाँकी छ, समय अझै छ नि ।’ 


नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा वरियताक्रम सम्बन्धी ताजा विवादबारे पनि नेता विश्वकर्माले चर्चा गरेका छन् । उनको भनाई छ, पार्टीको महाधिवेशनमा प्रतिष्पर्धा गर्दा कोही दोस्रो स्थानमा आएको थियो भनेकै भरमा नेपाली कांग्रेसले वरिष्ठ नेताको हैसियत स्वीकार गर्ने गरेको छैन । उनले विगतका महाधिवेशनहरूमा सभापति पदका निकटतम प्रतिष्पर्धीहरूलाई त्यस्तो स्थान संस्थागत रुपमा नदिइएको भन्दै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग प्रतिष्पर्धा गरेका चिरञ्जीवी वाग्ले र नरहरि आचार्य तथा वर्तमान सभापति शेरबहादुर देउवा नै पनि वरिष्ठताको दाबी गर्दै अघि नसरेको उदाहरण दिए ।
विश्वकर्माको व्यंगात्मक भनाई छ, ‘कुनै नेतालाई आफू वरिष्ठ हूँ भनेर मनमा लाग्दैमा उ वरिष्ठ भैहाल्दैन, कसैलाई त्यस्तो लाग्न पनि सक्ला तर नेपाली कांग्रेसमा संस्थागत रुपमा वरिष्ठ नेताको वरियता छैन ।’
प्रचार विभाग प्रमुख विश्वकर्माले संसद्को प्रभावकारिताबारेमा पनि टिप्पणी गरेका छन् । उनले सभामुख देवराज घिमिरेको घुमाउरो शैलीमा आलोचना गर्दै संसद्लाई प्रभावकारी बनाउन राजनीतिक दलहरूसँग समन्वय गर्नुपर्छ भन्ने कुरा अब त सभामुख पनि बुझ्दै गएका होलान् भने । नेपाल न्यूज बैंकसँग विभिन्न सन्दर्भमा सम्वाद गर्दा पूर्वमन्त्री विश्वकर्माले पार्टीको महासमिति बैठक अघि सम्पन्न भएका प्रदेश सम्मेलनहरूले संगठनमा ऊर्जा थपेको बताए । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार