सुदूरपश्चिमका यज्ञराज उपाध्यायले ल्याए  अनुसन्धानात्मक कृति ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । सुदूरपश्चिमका पूर्व प्राज्ञ यज्ञराज उपाध्यायको अनुसन्धानात्मक कृति ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ प्रकाशित भएको छ । प्रज्ञा भवनमा शनिबार आयोजित कार्यक्रममा ९ सय ४३ पृष्ठको उक्त कृति लोकार्पण गरिएको हो ।
उपाध्यायले २०५५ सालदेखि अनुसन्धान गरेर कृति तयार पारेको जानकारी कार्यक्रममा दिइयो । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका जिल्लाहरुमा अध्ययन–अनुसन्धान गरेर तयार कृतिमा उपाध्यायले सुदूरपश्चिमका चाडपर्व, गीतसंगीत, बाजा र लोक नृत्यबारे बृहत जानकारी समेटिएको छ ।
देउडा, डेउडा, न्याउल्या लगायत धमारी, गौरा, भुव, छलिया, भैनी, भारी खेल, ठाडी खेल, ढुस्को जिउना पुरी लगायतका चाडपर्वबारे पुस्तकमा व्याख्या छ ।
सस्कृतिविद् डा. जगमान गुरुङले उपाध्यायले लोक साहित्यको जगेर्नाका लागि ठूलो योगदान गरेको बताए । ‘कसैले आफूलाई प्राज्ञ भन्छ भने राष्ट्रको प्राज्ञिक आवश्यकतामा योगदान गर्नुपर्छ, उपाध्यायले गर्नुभएको छ,’ उनले भने, ‘चुनाव जितेर मात्रै ठूलो भइँदैन । राष्ट्रलाई योगदान गर्न सक्नुपर्छ ।’


साहित्यकर्मी नवराज लम्सालले ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ले नेपाली साहित्यको सांस्कृतिक इतिहासमा कतै भएका त्रुटिलाई सच्याउने क्षमता राख्ने बताए । बसाइसराईको युगमा मान्छे जहाँ पुगे पनि आफ्नो संस्कृतिलाई माया गर्ने भएकाले यसले प्रष्ट जानकारी दिने भनाइ उनले राखे । ‘पाठ्यान्तर नहुनेगरी आएको पुस्तक हो,’ उनले भने, ‘बसाइसाराईले कोही एउटा निश्चित भूगोलमा मात्रै हुँदैन, संस्कृति सर्दै जाँदा किताबले जोगाउने हो । यसले काली कर्णालीका प्रयोगलाई ज्युँदै राखेको छ ।’ 
पुस्तकका सम्पादक शिक्षासेवी सुवासचन्द्र भण्डारीले काली कर्णालीको मानव सभ्यता पुस्तकले समेटेको बताए । भाषा, संस्कृति, आञ्चलिकता समेटेको पुस्तकले नेपाली लोक साहित्यलाई धनी बनाएको भनाइ उनले राखे । ‘नेपाली वाङमयको शक्तिशाली दस्तावेज हो,’ उनले भने, ‘यसको महिमा चीरकाल रहिरहने छ ।’ उपाध्यायको आफ्नै घरआँगनकै संस्कृति भए पनि पुस्तान्तरण गर्ने ग्रन्थ तयार गर्ने जमर्को ऐतिहासिक रहेको उनले बताए । 
लेखक उपाध्यायले अध्ययन अनुसन्धान र प्रकाशनमा सबैको सहयोगले लेखन कार्य सम्भव भएको बताए । आफूले धान ल्याएर दिँदा सम्पादकले पठनीय बनाएको उनले सुनाए । 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार