एसियाली निर्वाचन सरोकारवाला मंचको छैठौं सम्मेलन सम्पन्न 

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं । ‘दिगो लोकतन्त्रको निर्माणः निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ विषयक एसियाली निर्वाचन सरोकारवाला मंच (AESF) को दुइ दिने छैठौं सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गरेका थिए । सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले निर्वाचन आयोगले संवैधानिक रूपमा स्वतन्त्र निकायका रूपमा काम गरेको र तीन तहको निर्वाचनलाई पटकपटक सफलतापूर्वक सम्पन्न गरेको बताएका थिए । 
साथै स्वतन्त्र, निष्पक्ष र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि विद्यमान निर्वाचन कानुन परिमार्जन गर्न सरकार तयार रहेको समेत बताएका थिए । 
उद्घाटन सत्रको अध्यक्षता गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै निर्वाचनमा नागरिकको व्यापक सहभागिता खोज्न र लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक छ भन्ने कुरा बताएका थिए । 
उद्घाटन सत्रका प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एस. वाई. कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय वृहत, निरन्तर र चुनौतिपूर्ण रहेको र यस्ता फोरमहरुबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्वपूर्ण अवसरको रुपमा रहने बताएका थिए ।  कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले सम्पूर्ण सहभागीको स्वागत गर्नुहुँदै निर्वाचन आयोग, नेपालले सुधारको कामलाई निरन्तर अघि बढाएको  अवगत गराएकी थिइन् । 
एनफ्रेलका वर्तमान अध्यक्ष Rohana Hettiarchchi ले AESF को स्थापनाका उद्देश्य र संस्थाले गरेका एवम् गर्न सक्ने प्रयासका बारेमा विस्तृत प्रकाश पारेका थिए ।  निर्वाचन आयोग, नेपाल र एशियन नेटवर्क फर फ्रि इलेक्शन (ANFREL) को संयुक्त आयोजनामा आयोजित  सम्मेलनमा एसियाली क्षेत्र लगायतका विभिन्न ४० देशका करिव २५० जनाको सहभागीता रहेको थियो । ती मध्ये ९ विभिन्न देशका निर्वाचन व्यवस्थापन निकायका २४ जना पदाधिकारीहरु समेत उपस्थित रहेका थिए । 
AESF को पहिलो सम्मेलन सन् २०१२ मा थाइल्याण्डमा र त्यस पश्चात क्रमशः टिमोर(लेस्ते (२०१५), इन्डोनेसिया (२०१६), श्रीलंका (२०१८) हुदै पाँचौ सम्मेलन (२०२१) Covid-19  का कारण अनलाइन सम्पन्न भएको थियो। AESF का प्रत्येक सम्मेलनमा भएका छल‌फल तथा उपलब्धहरु समेटी घोषणापत्र (Declaration) समेत जारी गर्ने प्रचलन छ । नेपाल र अन्य देशका विज्ञहरूद्वारा सातवटा विषय अन्तर्गत २४ वटा शिर्षकका विषयमा कार्यपत्र प्रस्तुति भएका थिए । उक्त विषयहरुमा गहन छलफल पश्चात २७ बुंदे काठमाडौं घोषणापत्र जारी गरिएको छ । निर्वाचन प्रणालीमा सामयिक सुधार, निर्वाचन कानूनमा परिमार्जन, प्रविधिमैत्री  निर्वाचनको अङ्गीकार, निर्वाचनको निष्ठाको प्रवर्धन, मतदाता शिक्षामा नागरिकको पहुँच विस्तार, समावेशीकरण, मतदान केन्द्रको पूर्वाधार सुधार, निर्वाचन शिक्षामा सामाजिक संजालको प्रयोग, मिथ्या सूचनाको नियन्त्रण, वातावरण मैत्री निर्वाचन, निर्वाचनमा नागरिकको सहभागिता जस्ता प्रमुख विषयहरु उक्त घोषणापत्रमा समेटिएका छन् ।   
दुइ दिनसम्म संचालित सम्मेलनको समापनमा  परराष्ट्र मन्त्री साउदले सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेललाई बधाई तथा धन्यवाद व्यक्त दिएका थिए । 
सम्मेलनमा उठेका तथा आदानप्रदान भएका अनुभवले निर्वाचन व्यवस्थापनको सुधारमा थप टेवा पुगी आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोग पुग्ने बताए । सम्मेलनका सम्पूर्ण वक्ता, प्रस्तुतकर्ता एवं सहभागीहरुको महत्वपूर्ण भूमिका प्रति आभार व्यक्त गर्दै निर्वाचन आयुक्त सगुन शमशेर ज.ब. राणाले धन्यवाद व्यक्त गरेका थिए ।  

एनफ्रेलको तर्फबाट Corazon Honorio Ignacio ले समापन मन्तव्य व्यक्त गरेका थिए । AESF को छैठौं सम्मेलन सबैको साथ र सहयोगबाट सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनले पारित गरेका घोषणापत्रका बुँदाहरुको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सकारात्मक साथ र सहयोग रहने अपेक्षा राखे । 
निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेलले नेपालको राजधानी काठमाडौँमा AESF को छैठौं सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनको सफलताको लागि प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग पु¥याउने सबै संस्था, निकाय, पदाधिकारी एवं व्यक्तिप्रति धन्यवाद व्यक्त गरे । 

साथै सम्मेलनले पहिचान गरेका घोषणापत्रका बुँदाहरुको सफल कार्यान्वयनका लागि सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेका निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।          

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार